११ कार्तिक २०८३, बुधबार

नेकपाका नेतालाई यसरी गोली हानेर हत्या गरियो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, ५ असोज । सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर ४ भुटाहाका नेकपाका नेता ५६ वर्षीय मोलाना खुर्सिद इस्लाहीलाई अज्ञात समूहले गोली हानी हत्या गरेको छ । बिहीबार दिउँसो इस्लाहीलाई दुईवटा मोटरसाइकलमा आएका युवाहरूले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

उनी रैयान नेसनल बोर्डिङ स्कुलका अध्यक्ष हुन् । भारतीय सीमाबाट आएका व्यक्तिले उनको हत्या गरी फरार भएको स्थानीयले जनाएका छन् । उनलाई छाती र घुँडामा दुई गोली लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयहरूका अनुसार ११ः४५ बजेको समय भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुईजनाले गोली चलाएका थिए । हत्या गरी भारतीय सीमा पार गर्ने क्रममा प्रहरीले रोक्दा प्रहरी पोस्टमा समेत गोली चलाएका थिए । गोली लागी प्रहरी जवान शिवलाल पौडेल घाइते भएका छन् । उनको दायाँ कम्बर र तिघ्रामा गोली वारपार भएको छ । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

घटनाको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । फरार रहेका युवाको खोजीका लागि नाकाहरू सिल गरी प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालयका एसपी राजन अधिकारीले जानकारी दिनुभयो । सीमाबाट भारत प्रवेश गर्ने क्रममा प्रहरीले रोक्न खोज्दा प्रहरी पोस्टमा आक्रमण गरेका थिए । एसपी अधिकारी तथा सशस्त्र प्रहरी प्रमुख घटनास्थल पुगेका छन् । घटनाबारे जानकारी लिने काम भइरहेको एसपी अधिकारीले बताए ।

नेकपाका स्थानीय कार्यकतासमेत रहेका नेकपा सुनसरीका नेता रमेश बस्नेतले जानकारी दिनुभयो । बस्नेतले घटना दुःखद् भएको बताउँदै हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

तत्कालीन एमालेका जिल्ला संयोजक रमेश बस्नेत र माओवादी केन्द्रका जिल्ला संयोजक योगेन्द्रप्रसाद मण्डल९ पप्पु०ले संयुक्त विज्ञप्ति जारी गरी घटनाको छानबिन, दोषीलाई कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

घटनापछि स्थानीयले हत्याको विरोधमा आन्दोलन सुरु गरेका छन् । गाउँकै इमान्दार व्यक्तिका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै स्थानीयले भुटाहा बजार बन्द गरेर आन्दोलन गरेका छन् ।