नेपालगञ्ज, २४ साउन । भारतको नयाँदिल्लीबाट उद्धार गरिएका ६८ नेपाली महिलामध्ये स्वदेश ल्याउन बाँकी १६ लाई बुधबार नेपालगन्ज ल्याइएको छ । उनीहरू अवैध रूपमा खाडी मुलुक जाने तयारीमा थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
नेपाली राजदूतावासको समन्वयमा दिल्ली महिला आयोग, दिल्ली र बनारस प्रहरी तथा रेस्क्यु फाउन्डेसनले ती महिलाको उद्धार गरेको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले बताए । उद्धार गरी ल्याइएकामध्ये पाँच महिला साबिकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका छन् ।
उनीहरूलाई नेपालगन्ज र अन्य जिल्लाका महिलालाई माइती नेपालको नजिकको कार्यालयमा पठाएको कोइरालाले बताए । उनले दाङ, बाँके, दैलेख, पाल्पा, नवलपरासी, रुपन्देही, मोरङ, झापालगायत जिल्लाका महिला उद्धार भएको बताए । ‘उद्धार गरी दिल्लीबाट ल्याइएका महिलालाई परिवारको जिम्मा लगाउने तयारी भएको छ,’ उनले भने ।
भारतबाट ल्याइएका महिलाले आफूहरू स्वेच्छिक रूपमा भारत हुँदै खाडी मुलुक जान लागेको माइती नेपालसमक्ष बयान दिएका छन् ।
उनीहरूले नेपालबाट घरेलु कामदारका रूपमा खाडी मुलुक जान सरकारले प्रतिबन्ध लगाएपछि आफूहरू भारत भएर खाडी मुलुक जान बाध्य भएको प्रतिक्रिया दिएका छन् । कोइरालाले महिलाले नबुझेर स्वेच्छिक रूपमा भारतको बाटो भएर खाडी मुलुक जान लागेको बयान दिएको बताए ।
केही दिनअघि दिल्ली महिला आयोगको सक्रियतामा दिल्लीबाट ७३ नेपाली महिलाको उद्धार गरी नेपाल ल्याइएको छ ।














प्रतिक्रिया