काठमाडौं । मिसेस वर्ल्ड २०२५ चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी) तीनदिने भ्रमणका लागि भोलि (शुक्रबार) नेपाल आउने भएकी छन् ।
रिवन इन्टरटेनमेन्टको आयोजनामा शनिबार काठमाडौंस्थित पुलिस क्लबमा आयोजना हुने मिसेस नेपाल वर्ल्ड २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन् ।
थाइल्यान्डकी स्यामीले मिसेस वर्ल्डको ताज जितेपछि पहिलोपटक नेपाल भ्रमण गर्न लागेकी हुन् ।
उनले मिसेस नेपाल वर्ल्डका प्रतिस्पर्धीलाई बधाई दिन नेपाल आउन पाउँदा खुसी व्यक्त गरेको आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी गराए ।
उनले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेकी छन् ।
स्यामीको नेपाल भ्रमणलाई विवाहित महिलाको आत्मविश्वास, क्षमता र सशक्तीकरणका विषयमा अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा हेरिएको छ ।
भ्रमणका क्रममा उनी मिसेस नेपाल वर्ल्डसँग सम्बन्धित विभिन्न कार्यक्रम तथा गतिविधिमा सहभागी हुनेछिन् ।
सौन्दर्य प्रतियोगिताबाट प्राप्त ताजलाई व्यक्तिगत सफलतामा मात्र सीमित नराखी सामाजिक परिवर्तनको माध्यम बनाउनुपर्ने मान्यता राख्ने स्यामीले आमाहरूको खुसीलाई केन्द्रमा राखेर सामाजिक अभियानसमेत सञ्चालन गर्दै आएकी छन् । जब आमा खुसी हुन्छिन्, तब परिवार र समाज पनि बलियो बन्दै जान्छन् भन्ने सन्देशसहित अघि बढाइएको उनको अभियानले आमाको खुसी, सकारात्मक सोच र पारिवारिक सुखको महत्त्वलाई उजागर गर्दै आएको छ ।
उनका लागि सौन्दर्य प्रतियोगिताको उपाधि व्यक्तिगत उपलब्धिसँगै समाजमा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवारी पनि हो । आफूले प्राप्त गरेको अवसर, आवाज र भूमिकालाई अन्य महिलाको प्रेरणाका लागि उपयोग गर्नुपर्ने उनको दृष्टिकोण छ ।
यस वर्षको मिसेस नेपाल वर्ल्डमा २२ जना विवाहित महिला अन्तिम प्रतिस्पर्धामा छन् ।
स्यामीको उपस्थितिले प्रतियोगीलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको अनुभव बुझ्न र महिला सशक्तीकरणका विषयमा थप प्रेरणा लिन सहयोग पुग्ने विश्वास आयोजक शिला बास्तोलाले व्यक्त गरेकी छन् ।














प्रतिक्रिया