काठमाडौं, १५ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई अनुमोदन नगर्न संसदीय सुनुवाइ समितिमा नेकपाका सदस्यले सहमति मागेपछि कांग्रेसले दुई दिन पर्खन भनेको छ ।
दुई रातमा अग्राख नपलाए जोशी प्रधानन्यायाधीश बन्ने सम्भावना टरेको छ । किनकि, सत्तारुढ गठबन्धनसँग मात्रै पनि समितिमा दुईतिहाइ छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
पार्टी नेतृत्वसँग छलफल गर्ने कांग्रेस सांसदको आग्रहपछि सुनुवाइ समितिको बैठक बुधबार अपराह्न ३ बजेसम्मका लागि स्थगित भएको छ । मंगलबार कांग्रेसले सबै जिल्लामा आन्दोलन गर्ने कार्यक्रम राखेकाले बैठक बुधबारसम्मका लागि स्थगित गरिएको कांग्रेस सांसद एवं समिति सदस्य भीमसेनदास प्रधानले बताए ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका जोशीको संसदीय सुनुवाइ भने गत बिहीबार नै सकिएको छ । सुनुवाइ सकिएर निर्णय गर्न शुक्रबार र आइतबार बैठक बोलाइए पनि छलफलविना नै स्थगित गरिएको थियो । सोमबार भने जोशीलाई सर्वसम्मत अस्वीकृत गर्दै नयाँ प्रधानन्यायाधीशको खोजी गर्ने निचोडमा सत्तारूढ दल पुगेपछि कांग्रेसले समय मागेको हो ।
ज्येष्ठ सदस्यका रूपमा समितिको अध्यक्षता गरेका लक्ष्मणलाल कर्णले सहमतिकै आधारमा बैठक सारिएको बताए । उनले भने, ‘जोशीको सुनुवाइ सकिए पनि त्यसपछिको छलफल निष्कर्षमा पुगेको छैन । सबै सदस्यको सहमतिमै बैठक फेरि स्थगित भएको हो ।’














प्रतिक्रिया