२८ आश्विन २०८३, बुधबार

कम्युनिस्ट आन्दोलनको मूल प्रवाह एमाले : खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalanath

काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह एमाले नै भएको आफ्नो दश दिने चीन भ्रमणबाट पुनः पुष्टि भएको बताउनुभएको छ ।

नेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसका अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय, बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष खनालले चीनले आफ्नो भ्रमण टोलीलाई दिएको महत्व र त्यहाँका उच्च नेतासँगको भेटमा पाइएको बुझाइका आधारमा पनि नेपालमा एमाले नै कम्युनिस्ट आन्दोलनको अगुवा र मूल प्रवाह भएको पुनः पुष्टि भएको दाबी गर्नुभयो ।

 अध्यक्ष खनाल दश दिने चीन भ्रमणबाट गएराति स्वदेश फर्कनुभएको थियो । उहाँले चीनले नेपालमा उग्रवामपन्थी चिन्तन राख्ने कम्युनिस्ट पार्टीलाई मूल प्रवाह मानेको हो कि भन्ने विगतको भ्रमको अन्त्य भएको भन्दै जनताको बहुदलीय जनवादको विचार बोकेको आफ्नो पार्टी मूल शक्ति रहेकामा छिमेकी मुलुकमा अब कुनै शङ्का नरहेको जनाउनुभयो ।

उहाँले चीन भ्रमणका क्रममा दुई देशबीचका सम्बन्ध विस्तार हुनाका साथै एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धमा पनि नयाँ आयाम थपिएको स्पष्ट गर्नुभयो । अर्काे एक सन्दर्भमा उहाँले पार्टीको आगामी असार १९ गतेदेखि काठमाडौँमा हुने नवौँ महाधिवेशन साङ्गठनिक, वैचारिक र सबै हिसाबले एकताबद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले एक वर्षभित्र संविधान जारी गराउने पार्टीको प्रतिबद्धतामा लाग्न सभासद् र कार्यकर्तालाई अपिल पनि गर्नुभयो । कार्यक्रममा मदन भण्डारीका सङ्कलित रचना समेटिएका विभिन्न पाँच पुस्तक सार्वजनिक गरिएको थियो ।

यस्तै भण्डारीका पुस्तक प्रकाशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने एमाले प्रचार विभागका सचिव सूर्य थापालाई पनि सम्मान गरिएको थियो । मदन–आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले प्रकाशित पुस्तकले भण्डारीको वैचारिक व्यक्तित्व बुझ्न थप मद्दत मिल्ने बताउनुभयो ।

यस्तै स्मृति दिवसका अवसरमा नेकपा एमाले केन्द्रीय स्वास्थ्य तथा जनसङ्ख्या विभागले पार्टी कार्यालयमा बिहान रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

भण्डारी र आश्रितको दासढुङ्गा जिप दुर्घटनामा परी २०५० साल जेठ ३ गते निधन भएको थियो ।