काठमाडौं, ९ साउन । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत र अध्ययन गरेर फर्किएका विषयप्रति एक कार्यक्रममा आफूले बोलेको कुरालाई विवादमा तानिएको मन्त्री शेरबहादुर तामाङले बताए ।
उनले भने,‘विशेषगरी महिलाको विषयमा विवादमा तानिने काम भएको छ । म आफै महिलाप्रति अति संवेदनशिल व्यक्ति हुँ । महिला मलाई जन्माउने आमा हुन् । मेरो जिवन धान्ने जीवनसाथी हुन् र हामीले जन्माएका छोरीहरू हुन् । म सचेत छु, छोरी मेरो जीवनको गर्व हो,छोरी मेरो सन्तान हो र भविष्य हो ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने केहि छात्राहरू हिंसामा परेको सुनेपछि स्तव्ध भएर त्यस्तो भनेको उनले बताए । उनले भने,‘हिंसा भएको छैन भनेर हामी कसरी समाधान गर्न सक्छौँ रु मैले भनेको विषयलाई टाउको र खुट्टा काटेर बिचको भागमात्र पोष्ट गरेर अझ बढाईचढाई र अतिरन्जित गरेर मेरो बारेमा समाचार आउदा अति दुखित छु ।’
उनले आफ्ना पार्टीका केहि साथीको नामबाट उहाँहरूको अनुमति विना राजिनामा माग भएको समाचार गलत ढंगले आएको बताए । बर्तमान सरकारकै असफलतासँग जोडेर नारा लगाउने काम भइरहेको भन्दै उनले प्रधानमन्त्री र सरकारलाई सफल बनाउदै निहित स्वार्थ बोकेकालाई परस्त गर्न पदबाट राजिनामा दिन पुगेको बताए ।
राजीनामा दिनेक्रममा उनले भ्रष्ट्राचारविरुद्ध तथा महिला अधिकारका लागि आफु र धर्मपत्नी उषाकला राई निरन्तर लड्दै आएपनि हाल त्यहि विषयले लखेटेको बताए । पटक पटक भावुक हुँदै आँशु झारेका तामाङले भने,‘जुन विषय बोकेर काम गरिएको हुन्छ, त्यहि विषयले लखेट्ने दिन पनि आउदो रहेछ, डा उपेन्द्र देवकोटाले जीवनभर धेरैको उपचार गर्नुभयो तर उहाँ क्यान्सर रोगबाट वित्नुभयो । यो अवस्था त्यस्तै लागिरहेको छ ।’














प्रतिक्रिया