काठमाडौं, ८ साउन । लगानी बोर्डले नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न ६ कम्पनी छनौट गर्ने अन्तिम तयारी गरेको छ ।
बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले अहिले बोर्डले विभिन्न कम्पनीका आशयपत्रमाथि मूल्यांकन गरीरहेको बताए । नेपाल समचार पत्र दैनिकले खबर छापेको छ ।
‘हामीले ग्लोबल टेन्डरमार्फत नागढुंगा–धुलिखेल खण्डमा मेट्रो रेल संचालनका लागि डिपिआर तयार पार्ने कम्पनीको आशयपत्र माग गरेका थियौँ । बोर्डमा परेका त्यही आशयपत्रमाथि मूल्यांकन भैरहेको छ । यो अन्तिम चरणमा पुगिसकेको छ,’ उनले भने ।
३७ किलोमिटर लामो यस खण्डको डिपिआर तयार पार्न विभिन्न देशका २३ आशयपत्र परेको र त्यसमध्ये ६ वटा छनौट गर्न अन्तिम चरणमा पुगेको उनले बताए ।
२०७५ बैशाख १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको बैठकले काठमाडौं उपत्यकाको रुट नम्बर २ मा मेट्रो रेलको सम्भाव्यता अध्ययनको आशयपत्रसम्बन्धी प्रस्ताव स्वीकृत गरेसँगै यो प्रकृया सुरु भएको बोर्डले जनाएको छ ।
काठमाडौंमा मेट्रो संचालनका लागि रुट–२ मा नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेलसम्मको रुट पर्दछ ।बोर्डले आशयपत्रका लागि जेठ पहिलो साता विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो ।
बोर्डले ३० दिनको म्याद राखी त्यस अवधिभित्र इच्छुक कम्पनीहरुलाई आशयपत्र प्रस्ताव पेश गर्ने गरी बोलपत्र आह्वान गरेको हो ।














प्रतिक्रिया