विराटनगर, ८ साउन । क्षतिपूर्तिबापतको एक सय रुपैयाँ भराउन विराटनगर महानगरपालिका–५ की इन्दिरा चापागाईंले जिल्ला अदालत, मोरङमा निवेदन दिएकी छिन् ।
अदालतको फैसला कार्यान्वयमा ढिलाइ भएपछि चापागार्इंले निवेदन दिएको बताइन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
विराटनगर–४ बरगाछीस्थित गोग्राहा माविकी व्यवस्थापन समितिकी पूर्वअध्यक्ष चापागाईंले तत्कालीन प्रधानाध्यापक विष्णुबहादुर भुजेलले गाली बेइज्जती गरेको भन्दै अदालतमा मुद्दा दिएकी थिइन् ।
२०७२ मा दर्ता गरिएको मुद्दामा ३ चैत, २०७३ मा जिल्ला अदालतले र गत २२ फागुनमा उच्च अदालतले चापागाईको पक्षमा फैसला गरेको थियो । उच्च अदालतको फैसलामा विराटनगर–५ का भुजेललाई क्षतिपूर्ति वाफत एकसय रुपैयाँ सजाय तोकिएको छ ।
त्यही फैसला छिटो कार्यान्यन गराउन माग गर्दै चापागाईले जिल्ला अदालतको फैसला कार्यान्व्यन गराउने तहसिल शाखामा निवेदन दिएकी हुन् । ‘अदालतले दिलाएको न्याय आफुले चाडै भोग गर्न पाए मात्रै बास्तविक न्यायको अनुभुति हुने भएकोले चाँडो फैसाला कार्यान्यवन गराइदिन अदालतमा निवेदन दिएकी हुँ,’ उनले भनिन् ।
एक सय रुपैयाँ क्षतिपूर्ति भराउन माग गर्दै वादी पक्षले निवेदन दिएपछि अदालते प्रतिवादीलाई फैसलाअनुसारको क्षतिपुर्ति बुझाउन ३५ दिने म्याद पूर्जी जारी गरेको तहसिलदार केदारप्रसाद गौतमले बताए । उनका अनुसार, त्यो म्यादभित्र एक सय रुपैयाँ नबुझाएमा अदालतले सात दिने म्याद पूर्जी जारी गरेर पक्राउ गर्ने छ ।
जिल्ला अदालत, मोरङले गाली बेइज्जती मुद्दामा चापागाईंको पक्षमा फैसला गर्दै भुजेललाई तीन दिन कैद र क्षतिपूर्तिबापत एक सय रुपैयाँ सजाय तोकेको थियो । जिल्ला अदालतको फैसला चित्त नबुझेपछि भुजेल उच्च अदालत, विराटनगर पुगेका थिए ।
उच्च अदालतले जिल्लाको फैसला उल्टी गर्दै तीन दिन कैद सजाय हटाएको थियो । उसले गोली बेइज्जती ऐन, २०१६ को दफा ३, ५ र ८ बमोजिम एक सय रुपैयाँ मात्रै क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।
२०७१ चैतमा गोग्राहा माविको व्यवस्थापन समिति अध्यक्ष चयन भएकी चापागाईंले विद्यालयमा भएको बेथिति र भ्रष्टाचारविरुद्ध बोल्न थालेकी थिइन् । विद्यालय व्यवस्थापन समितिका सदस्यसचिव प्रधानाध्यापक भुजेल र अन्य शिक्षकबीच द्वन्द्व बढेको थियो ।
उनी सुशासनका लागि अनशन बसेकी थिइन् । त्यस्तै, छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेकी थिइन् । सोही क्रममा प्रधानाध्यापक भुजेलले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेका थिए । त्यसका विरुद्ध अध्यक्ष चापागार्इं अदालत पुगेकी थिइन् ।














प्रतिक्रिया