२१ कार्तिक २०८३, शनिबार

प्राथमिक स्वास्थ्य केन्द्रको अवस्था : सिटामोलको भरमा विरामी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रुकुम, १ साउन । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बरमा ७ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सिटामोल बाहेक अन्य औषधि नभएको पाइएको छ ।

उपचारका लागि स्वास्थ्य केन्द्रमा आउने बिरामीहरुले सिटामोल मात्र पाउने गरेको बाध्यता सुनाएपछि अन्य औषधि नभएको पत्ता लागेको हो । डाक्टरबिहिन बनेको स्वास्थ्य केन्द्रमा सिटामोल मात्र पाइन थालेपछि स्वास्थ्य चेकजाँच तथा उपचार गराउन आउने विरामीको संख्या समेत घट्न थालेको छ ।

स्वास्थ्य केन्द्रमा अक्सिजन, सादा एक्सरे, भिडियो एक्सरे, ल्याब, फार्मेसी लगायतका अन्य सेवाहरु नहुँदा बिरामीहरु मर्कामा परेका छन् । घर आँगनकै स्वास्थ्य केन्द्रमा सबै किसिमको उपचार तथा औषधि नपाईने भएकाले धेरैजसो विरामीलाई बाहिर जानुपर्ने बाध्यता रहेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र कोटजहरीमा चौरजहरी नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ का विरामीहरु उपचार गर्न आउने गर्दछन् । तर, स्वास्थ्य केन्द्रमा निःशुल्क रुपमा पाइने औषधि समेत नभएकोले स्वास्थ्य केन्द्रले नै विरामीलाई निजी स्वास्थ्य संस्थामा औषधि किन्न आग्रह गर्ने गर्दछ ।

विरामीहरुका लागि प्रयाप्त मात्रामा औषधि नभएको र निःशुल्क रुपमा प्रदान गरिने औषधि समेत बाहिरबाट किन्न लगाउनुपर्ने बाध्यता रहेको हेल्थ असिसटेन्ट रामबहादुर सुनारले बताए ।

‘स्वास्थ्य केन्द्रमा सादा एक्सरे, भिडियो एक्सरे, ल्याब, फार्मेसी लगायतका सेवाहरु नहुँदा जटिल प्रकृति र इमर्जेन्सी विरामीहरुलाई रेफर गर्दै आईरहेका छौं’ उनले भने ।

निमित्तको भरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि दरवन्दी अनुसार कर्मचारीको पनि पदपूर्ति हुन सकेको छैन । यहाँको प्राथमिक स्वास्थ्य केन्द्रमा भरपर्दो सेवा नपाईने भएपछि प्रायजसो बिरामीहरु मिसन अस्पताल चौरजहारी तथा जाजरकोट अस्पताल जाने गर्दछन् ।