
रुपन्देही, ३१ असार । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहियाबाट शनिबार सशस्त्र प्रहरी बलको टोलीले करिब १ लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिद्धार्थनगर नगरपालिका १ बस्ने ३० वर्षिय स्वहान गुप्ता, २२ वर्षिय किस्मत सेख र ३५ वर्षिय मोहन गुप्ता छन् ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको लेडिज सुट तथा लेडिज टप्स फेला परेपछि उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्म रुपन्देहीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई बरामद लत्ताकपडासहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालय भैरहवामा बुझाइएको छ ।
यसैबीच, बारा जिल्लाको महागढीमाई नगरपालिका ७ बाट असार ३० गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषसहित एक जनालाई पक्राउ गरेको छ ।
ललितपुर जिल्लाको चापागाउँ बस्ने ३० वर्षिय अनिल देसारलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश तेलकुवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
गस्तीमा खटिएको एपीएफ टोलीले बारा जिल्लाको कवहीगोठबाट काठमाडौंतर्फ आउँदै गरेको ना. ७ ख ७३९५ नम्बरको यात्रुवाहक बसमा सवार देसारलाई जाँच गर्दा उनको साथमा फेनारगन ४३ वटा, लुपीजेसीक ५६ वटा, डाइजीपाम ५१ वटा, र २० ग्राम गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका देसारलाई आवश्यक कारवाहीको लागि बरामद लागूऔषधसहित स्थानीय प्रहरीमा बुझाइएको छ ।












प्रतिक्रिया