
ललितपुर, ३१ असार । ललितपुर महानगरपालिका वडा नं १६ लाई सांस्कृतिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भएको छ । समग्र नगरलाई नै सांस्कृतिक र पर्यटकीय नगरी बनाउने लक्ष्यलाई ध्यानमा राखेर वडाले आगामी आर्थिक वर्षमा नियमित पूर्वाधार निर्माण, पार्क निर्माणसंगै संस्कृति संरक्षण र पर्यटन विकास कार्यलाई अघि सारेको हो ।
वडाका विभिन्न टोल सुधार समिति, महिला समूह, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको वडा भेलामा वडालाई सांस्कृतिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको वडाअध्यक्ष निर्मलरत्न शाक्यले जानकारी दिए ।
अधिकाशं मूर्त र अमूर्त संस्कृति सञ्चालन हुने मुख्य थलोको रुपमा रहेकोलाई मध्यनजर गरेर सांस्कृतिक र पर्यटकीय नगरको नमूना वडाका रुपमा विकास गर्न लागिएको वडाअध्यक्ष शाक्यले बताए । साविकको १६ र १८ लाई गाभिएर बनाइएको हाल १६ वडा विश्वसम्पदा सूचीकृत पाटन दरबार क्षेत्रसहित महत्वपूर्ण सम्पदा र संस्कृतिले भरिएको छ ।
सो अवसरमा सहभागीहरुले विकास कार्यलाई सन्तुलित, दिगो विकासको अवधारणाले अघि बढाउनुपर्नेमा जोड दिएका थिए । समारोहमा ३ नं प्रदेशसभाका सदस्य शोभा शाक्यले ललितपुरको विकासको आधार नै संस्कृति र पर्यटक रहेकोले वडाले सोही अनुरुप योजना अघि सारेको बताउँदै त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् ।












प्रतिक्रिया