काठमाडौं, ३० असार । सरकारले संसद् भवन बनाउने भन्दै आएपनि अहिलेसम्म त्यसको अत्तोपत्तो छैन । प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली दोस्रोपटक आएकै दिन उनले पनि २ वर्षभित्रमा आफ्नै संसद् भवन बनाउने घोषणा गरेका थिए ।
सभामुख कृष्णबहादुर महराले पत्रकारहरूसँग कुरा गर्दै संसद् भवन बनाउने प्रक्रिया अघि बढेको बताए । नेपाल समाचार पत्र दैनिकमा गंगा बरालले समाचार लेखेका छन् ।
‘केही समस्याहरू थिए तर अब कुरा मिलिसकेको छ’, महराले भने, ‘पुरानै ठाउँमा भवन बन्नेछ, केही समयअघि सेनाले सो ठाउँमा आफूलाई चाहिनेभन्दै आएपनि भवन बनाउन सहमति दिएको छ ।’
नेपाल टेलिभिजन अगाडिको पुतली बगैंचामा भवन बनाउने सरकारको तयारी रहँदै आएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷२०७६ को वजेट भाषणमा वजेट छुट्याएको संसदलाई जानकारी दिए ।
संसद् सचिवालयका प्रशासन महाशाखाका सहसचिव सुरजकुमार दुराले नयाँ बानेश्वरमा संसद् भवन भाडामा प्रयोग गरेबापत साउनबाट वार्षिक १५ करोड रुपैंया बुझाउनुपर्ने जनाए ।
अहिले वार्षिक साढे १० करोड तिर्दै आएको छ । शहरी विकास मन्त्रालय अन्तर्गत रहेको छुट्टै विकास समितिले नयाँ बानेश्वरको संसद् भवनको रेखदेख र संरक्षण गर्दै आएको छ ।
संसद् भवनमा रुपान्तरण हुनुअघि यो भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका नामले चिनिन्थ्यो,। त्यहाँ विभिन्न सांस्कृतिक कार्यक्रम र गोष्ठी हुने गर्दथ्यो ।
सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाका उपसचिव हरिहर पोख्रेलले वार्षिक भाडाका अतिरिक्त विजुली र पानीको पनि थप पैसा तिर्नुपरेको बताए ।
२०६४ सालदेखि बानेश्वरमा संसदको बैठक बस्दै आएको छ । सिंहदरवारमा रहेको पुरानो संसद् भवन काम नलाग्ने भएको र त्यसको क्षमता पनि कम भएकाले सरकारले विकल्पको रुपमा भवन भाडामा लिँदै आएको छ ।
यो पुरानो संसद् भवनलाई पछिल्लो समयमा आएको भूकम्पले पनि क्षतिग्रस्त बनाएको छ । सचिवालयले विज्ञलाई देखाएर भवन परीक्षण गर्दा पुन सुधार गरेर बस्न योग्य नभएको जनाइएको छ ।
सिंहदरवार निर्माण र मर्मतको जिम्मेवारी पाएको सिंहदरवार सचिवालय पुनर्निर्माण समितिका प्रशासकीय अधिकृत रामप्रसाद बेल्वासेले सुविधा सम्पन्न संसद् भवन बनाउने गुरुयोजना बनाइएको जनाए ।














प्रतिक्रिया