
नवलपरासी (पश्चिम), २६ असार । स्वतन्त्र राजनीतिक समूहका संयोजक एवं पश्चिम नवलपरासीको क्षेत्र नं. १ का सांसद हृदेयश त्रिपाठीले आफू फेरि राजपामा फर्किने सम्भावना नै नरहेको बताएका छन् । अहिले आफ्नो समूह भित्र सिद्धान्त मिल्ने पार्टीसँग एकिकरण गर्ने कि नयाँ पार्टी बनाउने भन्ने विषयमा छलफल जारी रहेको उनले बताए ।
गृहजिल्ला नवलपरासीको परासीमा मंगलबार सञ्चारकर्मीहरुको भेटघाटमा तत्कालिन नेकपा एमालेको सुर्य चिन्ह लिएर चुनाव जितेका नेता त्रिपाठीले नेकपासँग नै संवाद हुने सम्भावना रहेको पनि जानकारी दिए । नेता त्रिपाठीले नेपाली काँग्रेसले अधिनायकवादको नारा ल्याएर बेमौसमी बाजा बजाएको पनि जिकिर गरेका छन् । वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टी अधिनायकवादको तर्फ जाने कुनै सम्भावना नरहेको पनि उनले स्पष्ट पारे ।
फरक प्रसंगमा नेता त्रिपाठीले किसानले आफ्नो उत्पादनको मूल्य आफै तोक्न नपाउँदासम्म मुलुकमा समृद्धि प्र्राप्त नहुने जिकिर पनि गरे । सरकारले तोके अनुसारकै मूल्यमा किसानलाई उखुको मूल्य भुक्तानी गर्न उनले चीनि मिल सञ्चालकलाई आग्रह गरे । चीनि मिलहरुले नाफा कमाउने बहानामा समयमै चीनि विक्री नगर्दा अहिले बजार भाउ घटेको र त्यसको मारमा किसान परेको भन्दै चीनि मिलले ऋण लिएका बैंक समेत टाट पल्टिने अवस्थामा पुगेको उनले दावी गरे ।
नवलपरासी क्षेत्र नं. १ का सांसद समेत रहेका नेता त्रिपाठीले सो क्षेत्रका सरावल, प्रतापपुर र सुस्ताका धेरै क्षेत्र डुवानको जोखिममा रहेको र समयमै ध्यान नदिए ठूलो क्षती हुने जानकारी दिए । गण्डक लगायतका नदीबाट हुने बाढीको रोकथाम नेपाल र भारत दुवैको संयुक्त प्रयासबाट मात्रै सम्भव हुने पनि उनले सुझाए ।












प्रतिक्रिया