१२ कार्तिक २०८३, बिहिबार

आत्मसमर्पण गरेलगत्तै छविलाल जेल चलान

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २५ असार । सर्वोच्च अदालतमा हाजिर भएलगत्तै फुजेल हत्याकाण्डका अभियुक्त छविलाल पौडेललाई आइतबार नै डिल्लीबजार कारागार चलान गरिएको छ ।

कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका उनलाई चितवन जिल्ला अदालतले ४ वैशाख २०७१ धरौटीमा छाडेको थियो । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

पुनरावेदन अदालत हेटौँडाले सदर गरे पनि उक्त आदेशलाई सर्वोच्चले बदर गरेको थियो । सर्वोच्च अदालतले २०७२ साल पौष ६ गते छविलाललाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखी कारवाही गर्नु भनेर आदेश दिए पनि छविलाल त्यसपछि बेपत्ता भएका थिए । छबिलालबाहेक अरुले तारेख धाइरहेका छन् ।

न्यायका लागि अनसन बस्दा मृत्यू भएका गोरखा फुजेल–७ का नन्दप्रसाद अधिकारीको शव ४५ महिनादेखि टिचिङ अस्पतालमा अलपत्र छ । कान्छो छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै काठमाडौंको वीर अस्पतालमा अनसन बसिरहेका बेला ३ सय २९ दिनमा २०७१ असोज ६ गते नन्दप्रसादको निधन भएको हो ।

नन्दप्रसादकी श्रीमती गंगामाया भने अस्पतालमै अनसनरत हुनुहुन्छ, दुवैले सँगै अनसन सुरु गर्नुभएको हो । घटनाका दोषीलाई कानुनी कारवाही नभएको भन्दै परिवारले अझैसम्म शव उठाउन मानेको छैन । शवको दाहसंस्कार नहुँदा काजकिरिया पनि भएको छैन ।

वीरमा अनसनरत गंगामायाले पनि दोषीलाई कारवाही नगरिए अनसन नतोड्ने अडान राख्नुभएको छ । सांसदहरूले प्रतिनिधिसभा र राष्ट्रियसभामा पछिल्ला केही दिनमा गंगामायाको जीवनरक्षाको लागि सरकारसँग माग गर्दै आएका छन् ।

राष्ट्रियसभाका सांसद्ले सरकारको जवाफ नआउन्जेलसम्म सदन नचल्ने चेतावनी दिएपछि गृहमन्त्री रामबहादुर थापामगरले दुवै सदनमा बिहीबार जवाफ दिनुभएको थियो । माओवादीका कार्याकर्ताले २०६१ साल जेठ २४ गते कृष्णप्रसादको हत्या गरेको बताइदैँ आएको थियो ।

पारिवारिक स्रोतले एस्एल्सी परीक्षा सकेर चितवन हजुरआमाका घरमा आएका बेला माओवादीले अपहरण गरी हत्या गरेको जाहेरी दिँदै आएका थिए । कृष्णका एकमात्र दाजु नुरप्रसाद पनि केही वर्षदेखि बेपत्ता हुनुहुन्छ ।

हत्यामा संलग्न भएका भनिएका पौडेलसहित भीमसेन पौडेल, कालिप्रसाद अधिकारी, सिता अधिकारी, रामप्रसाद अधिकारी, सुभद्रा अधिकारी, परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल, विष्णुप्रसाद तिवारी र रुद्र आचार्यले चितवन जिल्ला अदालतमा बयान दिइसकेका छन् ।