
-बिजय चालिसे
नवलपुर, २२ असार । विपद व्यवस्थापन तथा जलवायु परिवर्तनका असरहरु न्यूनिकरणका लागि सञ्चारकर्मीको भूमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम नवलपुरको कावासोतिमा सम्पन्न भएको छ ।
नमुना सन्देश साप्ताहिक पत्रिकाको आयोजना एंव ईसाई समाज नवलपरासी र यु एम एन रुपन्देही क्लस्टरको सहकार्यमा भएको कार्यक्रममा प्रकोपको जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तनका असरहरुको बिषयमा छलफल भएको थियो । नवलपरासी पनि प्राकृतिक विपदहरुबाट बढी प्रभावित हुने क्षेत्र रहेकोले यस्ता खालका कार्यक्रम निकै सान्दर्भिक हुने सहभागीहरुको दाबी छ ।
यस्ता विपदबाट हुने क्षतिबाट सर्वसाधारणलाई बचाउन, सचेत गराउन सञ्चारमाध्यम तथा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुनेमा सहभागीहरुको जोड थियो । जिल्ला प्रशासन कार्यालय बर्दघाट सुस्ता पुर्व नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले विपद व्यबस्थानमा सञ्चारकर्मीहरुको निकै ठूलो भूमिका हुने बताए ।
उनले सञ्चारकर्मी र सञ्चारमाध्यममार्फत विपदको पूर्वतयारीका विषयमा जनतालाई सचेतना जगाउने खालका सूचना एंव सामाग्री निरन्तर सम्प्रेषण गर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी नेपालले यस्तो बिषयमा निरन्तर सहकार्यका लागि प्रयास थालिनुपर्ने र जलवायु परिवर्तनका असर तथा प्राकृतिक विपदको क्षतिसँग लड्न सामूहिक प्रयास समेत आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रमका मुख्य प्रशिक्षक एंव नेपाल पत्रकार महासंघ प्रदेश नंबर ४ का उपाध्यक्ष नारायण शर्माले नेपालमा बर्षेनीजस्तो आईरहने भीषण बाढी, भूकम्प, चट्याङ लगायतका बिषयमा केन्द्रीत रही सम्भावित जोखिम न्यूनिकरणको बिषयमा प्रशिक्षण दिए ।
जलवायु परिवर्तनका असर न्यूनिकरण तथा बढ्दो प्राकृतिक प्रकोपलाई रोक्ने बिषयमा गरिएको अन्र्तक्रिया कार्यक्रमले नवलपरासीलाई मार्गदर्शन गर्नसक्ने सहयोगि संस्था ईसाई समाज नवलपरासीका अध्यक्ष सुभाष ज्ञावलीको भनाई छ ।
कार्यक्रममा ईसाई समाज नवलपरासीका विपद व्यबस्थापन तथा जलवायु परिवर्तनबाट हुने असर न्यूनिकरण सम्बन्धि परियोजना कार्यक्रम संयोजक गोदावरी काफ्लेले विपद एंव प्रकोपबाट हुने क्षती न्यूनिकरणका विषयमा नवलपरासीमा ईसाई समाजले सञ्चालन गरेका कार्यक्रमहरुको विषयमा जानकारी गराउदै आपतबिपतमा आफूहरुको सहयोग निरन्तर रहने वचन दिए ।
अन्तक्रिया कार्यक्रममा पत्रकार महासंघ प्रदेश नंबर ४ कोषाध्यक्ष दिपक भट्टराई, वातावरण पत्रकार मञ्ज नवलपरासीका अध्यक्ष शालिकराम कोईराला, प्रेस युनियन नवलपरासी अध्यक्ष श्रीराम सिग्देल, प्रेस चौतारी नवलपरासीका सचिव सागर पोखरेल, पत्रकार महासंघ नवलपरासीका पूर्व उपाध्यक्ष विरेन्द्र पराजुलीलगायतले विपद व्यवस्थापन र जलवायु परिवर्तनका असर न्यूनिकरणका सन्दर्भमा धारणा राखेका थिए ।
कार्यक्रममा झण्डै २५ जना क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।












प्रतिक्रिया