काठमाडाैं, २० असार । कांग्रेस नेता रामचन्द्र पौडेलले वीर अस्पतालमा आमरण अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
छोराको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै उनी गत १५ जेठदेखि अनशनमा बसेकी छिन् । गंगामायाको स्वास्थ्य अवस्था ३६औँ दिनमा आइपुग्दा थप बिग्रिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।
पछिल्लो दुई दिनयता स्वास्थ्य पहिलेभन्दा जटिल भएको डाक्टरहरूको भनाइ छ । शरीर सुन्निँदा हातको नसा नभेटिएका कारण गंगामायालाई घाँटीको नसाबाट स्लाइन दिइएको अस्पतालले जनाएको छ ।
अदालतको फैसला कार्यान्वयन गरेर छोराका हत्यारालाई कारबाही गराउन आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु विडम्बना भएको नेता पौडेलले बताए । युद्धकालमा भएका घटना र व्यक्तिगत रिसइबीलाई छानबिन गर्न नसक्दा रातो झन्डा ओढेर सबै अपराध माफ हुने अराजकता बढेको उनको टिप्पणी छ ।
‘रातो झन्डा ओढेपछि सबै खत माफ हुने प्रचलनको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘छोराको हत्यारालाई कारबाहीका लागि अनशन बस्नुपर्ने अवस्था आउनु विडम्बना हो । गंगामायाको माग अब सरकारले नसुने जनस्तरमा लैजानुपर्छ ।’
नेता पौडेलले विधिको शासन नै लोकतन्त्रको मेरुदण्ड भएको भन्दै विधिको शासन तोड्ने र स्वतन्त्र न्यायपालिकाको फैसलालाई अपमान गर्ने जुन परम्परा स्थापित हुन थालेको छ, यसबाट अत्यन्तै दुःखद र निरंकुशवादी मनोवृत्ति बढेको देखिन थालेको बताए ।














प्रतिक्रिया