१२ कार्तिक २०८३, बिहिबार

१६ दातृनिकाय र १५ आइएनजिओको सहयोग, मन्त्रालयलाई जानकारी छैन

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १८ असार । नेपालको वन तथा वातावरण क्षेत्रमा दातृनिकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)ले करिब २ खर्ब सहयोग गर्दै आएका छन् । सन् २०२३ सम्मका लागि उनीहरूले विभिन्न योजना बनाएर १ खर्ब ९८ अर्ब ५९ करोड ४५ लाख ६८ हजार सहयोग गर्ने योजना बनाएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

जसमध्ये दातृनिकायको सहयोग १० अर्ब ३५ करोड ९५ लाख २६ हजार अर्थात् ९ करोड ६८ लाख १८ हजार अमेरिकी डलर छ । यस्तै, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)ले १ खर्ब ८८ अर्ब २३ करोड ५० लाख ४२ हजार अर्थात् १ अर्ब ७५ करोड ९२ लाख ६ हजार डलर सहयोग गर्ने भएका छन् । वन तथा वातावरण क्षेत्रमा १६ दातृनिकाय र १५ आइएनजिओले काम गर्ने  भएका छन् ।

यी हुन् सहयोग गर्ने दातृनिकाय

आर्थिक वर्ष ०७५/०७६ का लागि १६ दातृनिकायको सहयोग ३ अर्ब ९ करोड १६ लाख ५८ हजार रुपैयाँ अर्थात् २ करोड ८८ लाख ९४ अमेरिकी डलर छ । दातृनिकायको विभिन्न चरणमा गरी १० अर्ब ३५ करोड ९५ लाख २६ हजार अर्थात् ९ करोड ६८ लाख १८ हजार अमेरिकी डलर रहेको छ ।

यसरी सहयोग गर्ने दातृनिकायमा विश्व खाद्य संगठन, विश्व वातावरण कोष, अल्पविकसित राष्ट्र कोष, अनुकूलन कोष, जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना, विकास साझेदार, एसियाली विकास बैंक, नोर्डिक विकास कोष, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष, इसिमोड, विश्व बैंक, विश्व वातावरण सहुलियत, वातावरण संरक्षणका लागि अन्तर्राष्ट्रिय कोष, संयुक्त अधिराज्य, संयुक्त राष्ट्र संघीय विकास कोष, विश्व वातावरण सहुलियत, संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम, विश्व वातावरण सहुलियत, फिनल्यान्ड छन् ।

आइएनजिओले कुल १ खर्ब ९८ अर्ब ५९ करोड ४५ लाख ६८ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् भने वन तथा वातावरण मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट १६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ मात्र छ । मन्त्रालयको भन्दा आइएनजिओले गर्नेे खर्च हरेक वर्ष धेरै हुने गरेको छ ।

वन तथा वातावरण क्षेत्रमा  काम गर्ने आइएनजिओ

वन तथा वातावरण क्षेत्रमा काम गर्ने आइएनजिओ १५ वटा छन् । एउटै संस्थाले पनि फरक जिल्लामा केन्द्रित भई काम गरिरहेका छन् । सन् २०१५ देखि २०२२ सम्म काम गर्ने आइएनजिओहरू १ खर्ब ८८ अर्ब २३ करोड ५० लाख ४२ हजार अर्थात् १ अर्ब ७५ करोड ९२ लाख ६ हजार डलर सहयोग गर्ने योजनामा छन् । धेरैजसो आइएनजिओले पहिलेदेखि काम गर्दै आएका छन् ।

यसरी यस क्षेत्रमा काम गर्ने आएनजिओमा केयर इन्टरनेसनल (अमेरिका), इन्टरनेसनल डेभलपमेन्ट इन्टरप्राइजेज इन्की (अमेरिका), कोसीटप्पु–कञ्चनजंगा बायो डाइभर्सिटी एजुकेसन लाइभ्लिहुड टेरा स्टुडियो (अमेरिका), प्राक्टिकल एक्सन(बेलायत), रेडपान्डा नेटवर्क (अमेरिका), रिनिउएवल वर्ड (बेलायत), द एडभानटिस्ट डेभलपमेन्ट रिलिफ एजेन्सी (अमेरिका), द हिमालयन ट्रस्ट (न्युजल्यान्ड), वल्र्ड वाइल्ड लाइफ फन्ड (अमेरिका) र जुलोजिकल सोसाइटी अफ लन्डन (बेलायत) छन् ।

आइएनजिओ र दातृनिकायको सहयोगबारे वन तथा वातावरण मन्त्रालय भने बेखबर छ । दातृनिकायसँगै आइएनजिओले समाज कल्याण परिषद्मार्फत कार्यक्रम स्वीकृत गराएर अर्थ मन्त्रालयसँग सम्झौता गर्ने व्यवस्था भएकाले वन मन्त्रालय बेखबर बनेको हो ।

नियमन तथा अनुगमन गर्ने काम समाज कल्याण परिषद्को भएकाले आफूहरूलाई जानकारी नभएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता धनञ्जय पौडेलले बताए । ‘हाम्रो मन्त्रालयसँग सम्बन्धित दातृनिकाय र आइएनजिओ भए पनि अनुगमन तथा नियमन अन्य निकायले गर्छन्,’ पौडेलले भने, ‘हामीसँग खाली तपाईंको मन्त्रालयसँग सम्बन्धित कार्यक्रम र संस्था हो वा होइन भन्न मात्र सोध्ने गरिन्छ ।’ यस्ता दातृनिकाय र आइएनजिओले कामभन्दा धेरै प्रचार गर्ने रहेको विज्ञहरू बताउँछन् ।