
काठमाडौं, १७ असार । युवा निबन्धकार तथा नियात्राकार युवराज नयाँघरे आफ्नो नयाँ पुस्तक ‘औंला–औंलामा अस्ट्रेलिया’ लिएर पाठकमाझ आएका छन् ।
शताब्दी पुरुष सत्यमोहन जोशीले नयाँघरेको कृति विमोचन गर्दै नेपाली निबन्ध र नियात्रामा उनले उल्लेखनीय योगदान पुर्याएको चर्चा गरे । जोशीले भने, ‘यो कृतिले अस्ट्रेलियाली आदिवासीबारे निकै राम्रोसँग बताएको छ ।’
समालोचक महेश पौडेलले नियात्रा संग्रहमाथि आफ्नो मन्तव्यमा, ‘नयाँघरेको आफ्नोपन र खुबी यहाँ पोखिएको छ’ भने । पौडेलले भने, ‘नियात्राको विशिष्ट स्वाद र शैली यस कृतिभित्र भेट्न सकिन्छ ।’
साहित्यकार कृष्ण धराबासीले शुभकामना दिँदै नयाँघरे घुमेर लेखिरहने एक जना समर्पित लेखक भएको टिप्पणी गरे । उनले भने, ‘नियात्राको कला र मौलिक शैलीका धनी नयाँघरेको यो कृतिले अस्ट्रेलियालाई नयाँ पाराले व्याख्या र विवेचना गरेको छ ।’
कृतिकार नयाँघरेले आफ्नो मन्तव्यमा नेपाली निबन्ध र नियात्रा लेखन कला जारी राख्ने बताए । उनले भने, ‘अस्ट्रेलियामा जाने र आउनेहरुको विशेष अनुभूति यहाँ लिपिबद्ध छ ।’
कार्यक्रममा निबन्धकार मणि लोहनी, रत्न पुस्तक भण्डारका प्रबन्धक सुरेश श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । नयाँघरेका १५ वटा कृतिमा यस अघि ६ वटा नियात्रा कृति आइसकेका छन् ।












प्रतिक्रिया