१२ कार्तिक २०८३, बिहिबार

प्रतिवेदन सुरुमा मोदीलाई बुझाइने, त्यसपछि ओलीलाई

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १७ असार । नेपाल–भारत प्रबुद्ध व्यक्तिसमूह (इपिजी)ले साझा प्रतिवेदन तयार गरेको छ । शुक्रबार र शनिबार बसेको अन्तिम (नवौँं) बैठकले इपिजीको कार्यकाल १९ असारसम्म प्रतिवेदनलाई अन्तिम रूप दिने र दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

यसअघिको बैठकमा सहमति हुन बाँकी १९५० को सन्धि परिमार्जन र खुला सीमा नियमनको विषयमा अन्तिम बैठकमा सहमति जुटेको छ ।

बैठकपछि इपिजीका भारत संयोजक भगतसिंह कोस्यारीले साझा प्रतिवेदन सुरुमा भारतका प्रधानमन्त्री मोदीलाई बुझाइने सहमति भएको बताए । ‘सुरुमा भारतीय प्रधानमन्त्री मोदीजीलाई प्रतिवेदन बुझाउने र त्यसपछि नेपालका प्रधानमन्त्री ओलीजीलाई बुझाउने निर्णय गरेका छौँ,’ भारततर्फका संयोजक भगतसिंह कोस्यारीले नयाँ पत्रिकासँग भने, ‘दुई देशका साझा सरोकार र हित प्रतिवेदनमा समेटेका छौँ । नेपाल–भारत सम्बन्ध थप उचाइमा जान्छ, म खुसी र आशावादी छु ।’ कोस्यारीले प्रतिवेदन नेपाल–भारत सम्बन्धको इतिहासमा कोशेढुंगो रहेको दाबी गरे ।

इपिजी नेपालतर्फका संयोजक डा. भेषबहादुर थापाले सौहार्दपूर्ण वातावरणमा बैठक सम्पन्न भएको र साझा प्रतिवेदन बनाउने सहमति भएको जानकारी दिए । उनले नयाँ पत्रिकासँग भने, ‘इपिजीको अन्तिम बैठक सम्पन्न भएको छ । हामी साझा प्रतिवेदन १९ असारभित्रै तयार गरेर दुवै प्रधानमन्त्रीको अनुकूल समयमा बुझाउनेछौँ ।’ इपिजीको काम सकिएकामा आफू खुसी भएको र कार्यान्वयनमा पनि आशावादी रहेको थापाको भनाइ थियो । ‘म खुसी छु, हामी सबै खुसी छौँ, तपाईं यही आधारमा हाम्रो प्रतिवेदनबारे मत बनाउन सक्नुहुन्छ,’ थापाले भने ।

इपिजी भारतका सदस्य डा. बिसी उप्रेतीले इपिजीका पाँच कार्यादेशअनुसार काम सम्पन्न भएको बताए । उनले भने, ‘कार्यादेशअनुसार प्रतिवेदन तयार भएको छ । त्यसलाई हाम्रो ढाँचामा बदलेर अन्तिम रूप दिन्छौँ र दुवै प्रधानमन्त्रीलाई बुझाउँछौँ ।’