१२ कार्तिक २०८३, बिहिबार

संसदमा विपक्षीका दर्जनौँ आरोप, प्रधानमन्त्रीको व्यंग्यमिश्रित जवाफ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १६ असार । संसद्मा चलेको छलफलका क्रममा विपक्षी सांसदहरूले सिंहदरबारको अधिकार प्रधानमन्त्री कार्यालयमा थुप्रिएको, अधिनायकवादको संकेत देखिएको, संघीयताप्रतिकूल बजेट आएको, राजा गए पनि महाराजा जन्मिएको, प्रधानमन्त्री कार्यालयमा आवश्यकभन्दा बढी बजेट थुपारिएको, भ्रष्टाचार बढेको, मन्त्रीहरूले आफूखुसी काम गरेकोलगायत दर्जनौँ आरोप लगाएका थिए । शुक्रबार प्रधानमन्त्री केपी ओलीले यी सबै आरोपको एकमुष्ट जवाफ दिए, व्यंग्य घोलिएको ४५ मिनेट लामो भाषणबाट । नयाँ पत्रिका दैनिकका कृष्ण कट्टेलको रिपोर्ट :

आरोप : विभिन्न विभाग र निकाय प्रधानमन्त्री कार्यालयले नै हेर्ने गरी पुनर्गठन गरियो ।

ओलीको जवाफ : माननीयहरूले धन्न एउटा प्रश्न गर्नुभएन । ६४–६४ वटा मन्त्रीले चलाएको देशलाई २४ वटा मन्त्री राखेर के खेलाँची गरेको भनेर धन्न गाली गर्नुभएन । ६४ को पल्टनले हाँकेको देश, के ख्यालठट्टा गरेको २४ ले हाँक्न मिल्छ भन्न सकिन्थ्यो । बिर्सनुभयो कि क्या हो, उठाउनुभएन । देश नयाँ ढंगले नै जान खोजेको छ । संरचनाहरू नयाँ ढंगले नै जान खोजिरहेका छन् । हामीले विधिसम्मत ढंगले अघि बढ्नुछ । सधैँ हिँडिराखेको बाटो अँध्यारो भयो भने पनि कहाँनिर मोड छ, कहाँ घुम्ती छ सबै थाहा हुन्छ । नयाँ बाटो भयो भने उज्यालैमा पनि मान्छेले शंका गर्छन् । हामी नयाँ बाटो हिँड्न खोजिरहेका छौँ ।

आरोप : सरकारले अधिनायकवादको संकेत देखायो ।

ओलीको जवाफ : कतिपय मान्छेले कुरा गर्दा भन्ने थेगो हुन्छ ‘चैनेकेरे, माने’, ‘चैनेकेरे माने’ । अधिनायकवाद आउँछ भन्ने कुरा पनि ‘चैनेकेरे माने’ भयो । जेमा पनि मिसिन्छ यो । अचम्मकै ‘चैनेकेरे माने’ भयो । म आश्वस्त रहन आग्रह गर्न चाहन्छु । लोकतन्त्रप्रति हाम्रो प्रतिबद्धता छ । कसैले किस्तीमा ल्याएर दिएको लोकतन्त्र उपभोग गरेको होइन । हामी सबैको पसिनाले, बलिदानले ल्याएको हो । अनि हामी आफैँमाथि शंका ?

आरोप : लोकतन्त्र गुम्ने खतरा भयो ।

ओलीको जवाफ : देशमा आशावादी चाहिएको वेला लोकतन्त्र त फेरि जान्छ क्यार भन्नु उपयुक्त होइन । लोकतन्त्र कहाँ जान्छ ? लोकतन्त्र गएपछि के आउँछ ? कहाँबाट आउँछ ? केटाकेटीलाई हाउगुजी देखाएजस्तो लोकतन्त्र जान्छ ? प्रधानमन्त्री गाडीमा चढेर हिँड्छ, यो अधिनायकवादको खतराको संकेत हो भन्ने सुनिन्छ । कास्कीकोटका राजाले, गोरखाका राजाले गाडी चढेनन्, घोडा त जान सक्ने ठाउँ थिएन । अहिले हामी त्यतैतिर जान खोजेका हौँ ? म प्रश्नकर्ता साथीहरूलाई ढुक्क हुन आग्रह गर्छु । आजको लोकतन्त्र हामीले ल्याएका हौँ । भ¥याङ चढेर पनि होइन, रक क्लाइम्बिङबाट हामी आएका हौँ ।

आरोप : प्रधानमन्त्री कार्यालयमा धेरै कार्यालय गाभियो ।
ओलीको जवाफ : धेरै कार्यालय गाभेर परिपञ्चका लागि बढी बजेट राखेको होइन । पुनर्निर्माण प्राधिकरणलगायत कार्यालयको बजेट पनि भएकाले धेरै रकम देखिएको हो । परिपञ्चका लागि राखिएको होइन । देश बनाउन यसो गरिएको हो ।

आरोप : भ्रष्टाचार बढिरहेको छ ।

ओलीको जवाफ : भ्रष्टाचार अझै कम भएन भन्नुपर्नेमा माननीयज्यूहरूको ‘टङ स्लिप’ भएको हो । भ्रष्टाचार बढेकोबढ्यै छ भन्नु सान्दर्भिक होइन । उहाँहरूले भ्रष्टाचार अझै कम भएन भन्न खोज्नुभएको हुनुपर्छ । यो सरकार भ्रष्टाचार निर्मूल पार्ने पक्षमा अघि बढिरहेको छ ।

आरोप : भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भयो ।

ओलीको जवाफ : यसो हेरेको चुनावताका प्राधिकरणका सिइओ टिकट बोकेर चुनाव लड्न गए । ढिलो त हुने नै भयो नि । तर, यो सरकार जनताको आवास नबनेको टुलुटुलु हेरेर बसेको छैन । पुनर्निर्माणले अहिलेको भन्दा अझ बढी गति लिन्छ ।