
काठमाडौं, १५ असार । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को नवौँ बैठक शुक्रबार बस्दै छ ।
इपिजीको म्याद २० असारमा सकिन लाग्दा यो बैठकलाई अन्तिम भनिएको छ । तर, इपिजीमा नेपाल–भारत सीमा नियमनसहित १९५० को सन्धिका दुई विषयमा सहमति हुन बाँकी छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘साझा प्रतिवेदन तयार गर्ने विषयमा हाम्रो छलफल हुँदै छ, विषयको गाम्भीर्यता मनन गर्दै हामी निष्कर्ष निकाल्नेमा विश्वस्त छौँ,’ नेपाली पक्षका संयोजक डा.भेषबहादुर थापाले भने । भारततर्फका सदस्य डा.बिसी उप्रेतीले पनि समग्र विषयमा छलफल हुने जानकारी दिए ।
एक नेपाली सदस्यका अनुसार जलस्रोत, व्यापार, पारवहन, सांस्कृतिक सम्बन्धलगायत विषयमा सहमति भइसकेको छ ।
‘सहमति भइसकेको र हुन बाँकी विषय समेटेर हामीले तयार गरेको प्रतिवेदन भारततर्फका साथीहरूलाई पठाएका छौँ, उहाँहरूले यसमा राय राख्नुहुन्छ,’ नेपालतर्फका ती सदस्यले भने, ‘त्यसपछि मात्रै साझा प्रतिवेदन बन्ने कि नबन्ने भन्ने तय हुन्छ ।’
दुवै पक्षबीच १९५० को सन्धि प्रतिस्थापन र नेपाल–भारत खुला सीमा नियमनबारे साझा धारणा बन्न सकेको थिएन । भारतीय पक्षले जबाफसहित प्रस्तुत हुने जानकारी दिएपछि नेपाली पक्ष आशावादी छ ।
२९ र ३० चैतमा दिल्लीमा बसेको इपिजीको आठौँ बैठकमा १९५० को सन्धि र नेपाल–भारत सीमा नियमनको विषयमा आठ घन्टाभन्दा लामो छलफल भएको थियो ।














प्रतिक्रिया