काठमाडौं, १२ असार । सरकारले यातायात सिन्डिकेट औपचारिक अन्त्यको घोषणा गरे पनि यात्रुले महसुस गर्ने गरी कुनै परिवर्तन भएको छैन ।
यातायात व्यवसायीहरूले पुरानै रुटमा निर्वाध रूपमा गाडी कुदाइरहेका छन् । उनीहरूले पहिलेजस्तै आफ्ना समितिअन्तर्गतको गाडीलाई आलोपालो प्रथा कायमै राखेका छन् । यात्रु कोचिएरै यात्रा गर्न बाध्य छन्, सास्ती उस्तै छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
बसहरू समयमै नछुटे, गन्तव्यसम्म नपुगे कसले कारबाही गर्ने भन्ने टुंगो छैन । संक्रमणकालका लागि भन्दै यातायात व्यवस्था विभागले नयाँ बसपार्कको टिकट काउन्टरबाट लोत्से बहुउद्देश्यीय प्रालिको ब्यानरमा टिकट काट्ने छुट दिएको छ ।
यातायात साधन दुर्घटनामा परी घाइते भएका यात्रुको बिचल्ली भएको छ । उपचार खर्च तिर्न नसक्दा केही घाइते अस्पतालमै थुनिनुपरेको छ भने मृतकको शव छुटाउन नसकेर आफन्तमा रुवावासी छ ।
बिमामार्फत मात्र घाइतेले तीन लाख उपचार खर्च र मृतकका आफन्तले पाँच लाख पाएका छन् ।
सरकारले यातायातलाई व्यवस्थित गर्ने भन्दै कार्यदल गठन गरेको छ । यातायात व्यवसायीहरूले कम्पनी, फर्म र सहकारीअन्तर्गत आफ्नो व्यवसाय दर्ता गर्ने क्रम जारी छ । हालसम्म विभागमा ३१० व्यवसायीले दर्ता गराएका छन् भने १४ अञ्चलका यातायात कार्यालयबाट दर्ता गर्ने क्रम चलिरहेको छ ।














प्रतिक्रिया