काठमाडौं । परराष्ट्रविद्हरुले छिमेकी राष्ट्र भारतमा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी सरकारमा आउँदैमा नेपाललाई हेर्ने नीतिमा परिवर्तन नहुने दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनीहरुले भारतीय जनता पार्टीकै नेता अटलविहारी वाजपेयी प्रधानमन्त्री हुँदा देखि अहिलेसम्म जुन सुकै सरकार आए पनि नेपाल नीतिमा परिवर्तन नभएको उदाहरण प्रस्तुत गर्दै मोदी आउँदा समेत खासै परिवर्तन नहुने बताए ।
परराष्ट्रविद्हरुको भनाइ छ –‘भारतको विदेश नीति सबै दलको सहमतिमा संस्थागत ढंगले विकास हुन्छ । सत्ताको नेतृत्वमा पार्टी बदलिदैमा परिवर्तन भइहाल्दैन । क्रान्तिको बेलामामात्रै उनीहरुले सक्रिय सहयोग गर्छन । अरु बेलामा स्थिर रहन्छन् ।’
साक्षात्कारमा परराष्ट्रविद् डा. भेषबहादुर थापाले नरेन्द्र मोदी ब्यक्तिको नेतृत्वमा पार्टी चुनावमा उठेर विजय हासिल गरेकोले नेपालमा पनि यसो होला र उसो होला भनेर आशंका मात्र ब्यक्त गरिएको दाबी गर्दै भारतको विदेश नीतिमा ठोस परिवर्तन नहुने बताए ।
थापाले लिबरल इकोनोमीको नीति लिएर अघि बढिरहेको भारतको नेपालमा सुरक्षाको चासो रहने उल्लेख गर्दै नेपालले पनि भारतको लिवर अर्थनीतिबाट फाइदा लिन सक्नुपर्ने बताए ।
उनले भारतसँगको सम्बन्धको विषयमा दलहरुवीच साझा धारण बनाएर सम्बन्ध अघि बढाउँदै फाईदा लिनु पर्नेमा जोड दिदै भने– ‘हामी आन्तरिक रुपमा बलियो हुनुपर्छ भारतको परिवर्तनले केही फरक पार्दैन । नेपालले आन्तरिक रुपमा होमवर्क गरेर भारतसँगको सम्बन्ध राम्रो बनाउन प्रयत्न गर्नुपर्छ । यसले नेपाललाई फाईदा हुन्छ ।’
उनले भारतको उच्चस्तरका कुनै पनि नेता नेपाल नआएको अवस्थामा नेपालले अब त्यसमा ध्यान दिनु पर्नेमा जोड दिँदै धर्मको आधारमा मोदीले कुनै पनि अतिवादी निर्णय लिन सक्ने अवस्था नभएको र लिए उनैलाई फाइदा नहुने भएकोले त्यस्तो आँकलन सही हुन नसक्ने बताए ।
परराष्ट्रविद् जयराज आचार्यले भारतमा सरकार परिवर्तन हुँदैमा नेपालमा ठूलो परिवर्तन नहुने दावी गरे । भारतमा भएको परिवर्तन नजिकिएर फाइदा लिन नेपालले ठोस नीति बनाउनु पर्ने उनले जोडदिए । उनले भने– ‘मोदी आउँदैमा नेपाललाई दान दिन्छन् । भयावह ब्यापार घाटा घटाउँछन भन्ने होइन । नेपालले नै आन्तरिक उत्पादन बृद्धिको विदेश नीति बनाउनुपर्छ ।’
आचार्यले अटल विहारी बाजपेयी प्रधानमन्त्री हुँदाकै नीति अहिलेसम्म कायम रहँदै आएकोले अहिले पनि परिवर्तन नहुने स्पष्ट पार्दै भारतको नेपालमा सुरक्षा चासो भने कायम रहने बताए ।
उनले भने– ‘भारतले लिवरल आर्थिक नीति लिएको छ, मोदी पनि त्यसबाटोमै अघि बढेका छन । त्यसैले त्यसबाट फाईदा लिन सक्ने गरि नेपालले आर्थिक विदेश नीति बनाउनु पर्छ ।’
परराष्ट्रविद् आचार्यले भारतमा मोदी आउना साथ हिन्दुत्वको वकालत गर्ने राप्रपा नेपालको शक्ति नबढ्ने दावी गर्दै भने– ‘वीजेपीले पार्टी विशेषको नीति लिँदैन । उसले राष्ट्रिय विदेश नीतिलाई नै अघि बढाउँछ ।’
अर्का परराष्ट्रविद् डा. शम्भुराम सिंखडाले विजयसँगै मोदीले आफ्नो विजयलाई भिक्टरी अफ ईण्डिया र फेस्टिवल अफ डेमोक्रेसी भनी सन्देश ट्वीट गरेकोले नेपाललाई हेर्ने नीतिमा नयाँ कुनै परिवर्तन हुन नसक्ने सम्भावना औँल्याए ।
उनले भने– ‘इण्डो नेपाल रिलेसन समान प्रकृतिको भएकोले एक ठाँउमा परिवर्तन हुँदैमा अर्को ठाँउमा खासै परिवर्तन हुँदैन । हामीले नै भारतसँग फाईदा लिने क्षेत्रहरुको पहिचान गरेर फाईदा लिने प्रयास गर्नु पर्छ ।’
सिंखडाले नेपालले राष्ट्रिय सहमति गरेर राष्ट्रिय हित निश्चित गरेर अघि बढ्न सके भने परिवर्तनबाट आर्थिक विकासमा फाईदा लिन सक्ने सम्भावना ब्यक्त गरे ।
उनले लामो समयदेखि कुनै पनि भारतीय उच्चस्तरीय नेता नेपाल नआएको सन्दर्भमा नरेन्द्र मोदी नेपाल आउने सम्भावना ब्यक्त गर्दै भने–‘मोदी आफैले पशुपतिनाथको कुरा गरेका छन । त्यसैले उनी पशुपति नाथको दर्शन गर्न नेपाल आउने सम्भावना छ भने सार्क शिखर सम्मेलनमा पनि नेपाल आउने सम्भावना छ । नेपालले अहिलेबाटै आन्तरिक गृहकार्य गरेर फाईदा लिन सक्ने विषय निश्चित गर्नु पर्छ ।’
भारतका लागि नेपाली पूर्वराजदुत डा. दुर्गेशमान सिंहले नरेन्द्र मोदीले पार्टी भन्दा माथि उठेर आर्थिक विकासको एजेण्डा लिएर हिडेकोले विदेश नीति भन्दा पनि आर्थिक विषयमा केही परिवर्तन आउन सक्ने आँकलन गरे । मोदीको लिबरल आर्थिक नीतिबाट नेपालले फाईदा लिन सक्नु पर्ने उनले बताए ।
भारतको विदेश नीति संस्थागत ढंगले विकास हुने भएकोले ब्यक्ति परिवर्तन हुँदैमा नीति परिवर्त नहुने भन्दै उनले भारतको सुरक्षा चासोलाई सम्बोधन गर्दै भारतको लागि बेग्लै परराष्ट्र नीति बनाएर अघि बढ्नु पर्नेमा जोड दिए ।
परराष्ट्रविद् राजन भट्टराईले नेपाल र भारतवीचको सम्बन्ध अत्यन्तै घनिष्ठ भएकोले नेतृत्व परिवर्तन हुँदैमा पुरै परिवर्तन नहुने बताए । उनले भने– ‘भारतको परराष्ट्र नीति संस्थागत हुन्छ, पार्टी पिच्छे अलग अलग हुँदैन ।’
उनले भारतले अमेरिका र चीनसँग पनि धेरै आर्थिक सम्झौताहरु गरिसकेकोले ती देशहरुसँगको सम्बन्धमा समेत फरक नपर्ने बताए ।
उनले नयाँ परिस्थितिमा नेपालले लिने फाईदालाई ध्यानमा राखेर आन्तरिक सहमति गरेर साझा नीति बनाउनु पर्नेमा जोड दिदै आर्थिक फाईदा लिने गरी आन्तरिक गृहकार्य गर्नु पर्नेमा जोड दिए ।
धर्मको राजनीति अल्ट्रा राजनीति भएकोले त्यसले मोदीलाई समेत फाईदा नगर्ने भएकोले नेपालमा पनि धर्म निरपेक्षतामा कुनै पनि फरक नपर्ने बताए ।















प्रतिक्रिया