२८ आश्विन २०८३, बुधबार

किन पलायन हुन्छन् महिला पत्रकार ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

women-journalist

दीपक ओली

धनगढी । सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले पत्रकार महिलाहरुलाई जतिसुकै बेला जहाँसुकै गएर पनि समाचार संकलन गर्नसक्ने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेकी छन् ।

युनेस्कोको सहयोगमा सञ्चारिका समूहले बिहीबारदेखि धनगढीमा आयोजना गरेको तीन दिने ‘पत्रकार महिलाहरुको पेशागत सुरक्षा तालिम’ को उद्घाटन गर्दै शर्माले यस्तो बताएकी हुन् ।

पत्रकार भएका कारण भोग्नुपर्ने समस्या थुप्रै भएपनि महिला भएकै कारण पत्रकार महिलाहरुलाई पेशागत र भौतिक असुरक्षा रहेको भन्दै शर्माले उनीहरुको पेशागत र भौतिक सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरिन् ।

‘एउटा पत्रकार पुरुषलाई रातीको समयमा अर्थात एकान्तमा घडी, मोबाइल, पैसा लुटिने र कुटिन सक्ने डर होला,’ शर्माले भनिन्, ‘तर पत्रकार महिलाहरुलाई भने यौन दुव्र्यवहार पनि हुनसक्ने खतरा हुन्छ ।’ उनले यी सबै जोखिम न्यूनिकरण गर्ने जिम्मेवारी राज्यको भएका कारण पत्रकार महिलाहरुलाई महिला भएकैकारण पेशाबाट पलायन हुने वातावरणको अन्त्य गर्न आग्रह गरिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष शिव गाउँलेले पत्रकार आफ्नो र अर्काका कारण जोखिममा पर्ने गरेको बताए ।

‘जसरी एउटा गैडा आफुसँग रहेको बहुमूल्य खागकाकारण तस्करको शिकार हुन्छ, त्यसरी नै पत्रकारसँग कमल हुने भएकाकारण जोखिममा पर्छन्,’ गाउँलेले भने, ‘पत्रकार महिलाहरु सामाजिक, साँस्कृतिक संरचनाका कारण थप जोखिममा परिरहेका छन् ।’

तालिमको उद्घाटन सत्रमा बोल्दै कैलालीका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले सबै नागरिकको भौतिक सुरक्षाको जिम्मा राज्यको हो भन्दै पत्रकारिता जस्तो महत्वपूर्ण पेशामा आवद्ध जोसुकैको सुरक्षाका लागि स्थानीय प्रशासन संवेदनशील रहेको बताए ।

लेखकले समाचार लेखेकैकारण पत्रकार महिलाहरुले कुनैपनि व्यक्ति अथवा समूहबाट मानसिक र भौतिक रुपमा डर, धम्की र आक्रमण भए कार्वाही गर्न आफू पछि नहट्ने भन्दै डटेर काम गर्नका लागी पत्रकार महिलाहरुलाई आग्रह गरे ।

तीन दिनसम्म चल्ने यो तालिममा सुदूरपश्चिमका अछाम, डडेल्धुरा, कञ्चनपुर र कैलालीका गरी २२ जना पत्रकार महिलाहरु सहभागी छन् । तालिममा प्रमूख प्रशिक्षक शिव गाउँले, पत्रकार निर्मला शर्मा र कल्पना भण्डारीले सहजीकरण गरिरहेका छन् ।