२८ आश्विन २०८३, बुधबार

स्थानीय निकायको निर्वाचनसँगै जनमत संग्रह गर्नुपर्छ: थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapa

लक्ष्मी काफ्ले

विर्तामोड । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले राजसंस्था स्थापना गर्ने कुरा तीन ठूला दलले अस्वीकार गरे अहिलेको संविधानमा भएको व्यवस्था अनुसार जनमत संग्रह गनुृपर्ने बताएका छन् ।

राप्रपा नेपाल झापा जिल्लाको दोस्रो अधिवेशनको उद्घाटन गर्न झापा आएका अध्यक्ष थापाले आउँदो कत्तिक– मंसिरमा स्थानीय निकायको निर्वाचनसँगै जनमत संग्रह पनि गर्नुपर्ने धारणा राखेका हुन् । थापाले सहमतिबिनै संविधान बनाए भोलिपल्टबाटै च्यातिने चेतावनीसमेत दिए ।

अधिवेशनमा बोल्दै अध्यक्ष थापाले गएको निर्वाचनमा प्रत्यक्षतर्फ आफूहरुले एक सिट पनि ल्याउन नसकेकाले अवदेखि उम्मेद्वार छनौट प्रक्रियामा भएका कमिकमजोरी सँच्याउने प्रतिवद्धता जनाए । अध्यक्ष थापाले जनाताले आफूहरुलाई प्रतिपक्षमा बस्न आदेश दिएकाले प्रतिपक्षमै बसेर रचनात्मक तर शसक्त भूमिका निर्वाह गर्ने बताए । प्रमुख प्रतिपक्षीका रुपमा अर्को पार्टी भएता पनि सही प्रतिपक्षी राप्रपा नेपाल नै भएको थापाले जिकिर गरे ।

‘अव बन्ने संविधानमा सबै राजनीतिक पार्टीको भावनालाई संवोधन गरिनुपर्छ,’ थापाले भने – ‘संविधान सबैको साझा बनाउन सक्नुपर्छ । हामी माघ ८ भित्रै संविधान दिन मन, वचन र कर्मले नै प्रतिबद्ध छौं ।’ राप्रपा नेपालले पाएको प्रत्येक भोटलाई मतदाताको आत्मदान बताएका अध्यक्ष थापाले राप्रपा नेपालले त्यो मतको अपमान नगर्ने विश्वास दिलाए । आफूहरुसँग २४ सिट मात्र रहेकाले आफूहरुको एजेण्डा स्थापित नहुन पनि सक्ने थापाको धारणा थियो ।

सनातन हिन्दू राज्य र राजासहितको प्रजातन्त्रको पक्षमा राप्रपा नेपाल रहेको थापाले स्पस्ट पारे । अव हुने राजसंस्था गणतन्त्रवादीहरुको पनि सहमतिमा स्थापना हुने उनले बताए । हिन्दू राष्ट्र र धार्मिक स्वतन्त्र मुलुकका रुपमा एकसाथ नेपाललाई अगाडि बढाउन सकिने थापाले बताए । राप्रपा नेपाल एउटा पार्टी मात्र नभएर आन्दोलन र अभियान पनि भएकाले यो निरन्तर जारी रहने थापाले जिकिर गरे ।

‘हिन्दू राष्ट्रको पहिचान मेटाउने कुरा सानो कुरा होइन, यो धेरै अघिदेखिको योजना थियो,’ थापाले भने – ‘यसलाई जोगाउनका लागि राप्रपा नेपाल स्थापना भएको हो ।’ अब हुने चुनावबाट राप्रपा नेपाल पहिलो पार्टी बन्ने उनले विश्वास दिलाए । अधिवेशनमा बोल्दै अध्यक्ष थापाले ‘राप्रपा र राप्रपा नेपाल’मा जनता झुक्किएकाले नाम परिवर्तन गर्न सुझाव आएको रहस्यसमेत खोलेका छन् । उनले भने – ‘नयाँ नाम राख्नुपर्ने सुझाव आएको छ । महाधिवेशनमा छलफल गरेर निर्णय गर्नेछौं ।’

राप्रपा नेपालको अधिवेशन यही जेठ १० देखि १३ गतेसम्म हुने थापाले जनाए । राप्रपा नेपालका केन्द्रीय सदस्य एवम् मेची अञ्चल संयोजक राजेन्द्र लिङ्देनले परिवार त्यागेर आउन सक्ने हो भने मात्र राप्रपा नेपालमा आउन आग्रह गरे । उनले भने – ‘चुनावको बेलामा मात्र पाटी–पार्टी भन्दै हिँड्ने तर राति–राति अन्तै कुद्नेले पार्टीमा नआउनु ।’ लिङ्देनले ठीक मान्छेलाई पार्टीमा राख्ने र बेठीकलाई ‘घेक्रेठ्याक’ लगाएर निकाल्ने चेतावनीसमेत दिए । चिया मजदुरको आन्दोलनको बारेमा कुरा गर्दै लिङ्देनले मजदूरले जति आन्दोलन गरेता पनि सरकारले कानमा तेल हालेर बसेको आरोप लगाए । सरकारले बेवास्ता गरेकै कारण उत्साहका साथ चिया खेतीमा लागेकाहरु पनि विस्थापित हुने अवस्थामा रहेको उनले बताए । ‘मजदूरले किन्ने दाल, चामल, तेलको मूल्य अलग हुनुपर्छ,’ लिङ्देनले भने – ‘सरकारले केही सुनेन, अव मजदूरको नेतृत्व हामी गर्नेछौं ।’

कार्यक्रममा केन्द्रीय सदस्य भक्ति सिटौलाले नेपाली कांग्रेसको आलोचना गरे । उनले नेपाली कांग्रेसमा ३५ वर्ष काम गरेको तर कांग्रेसले मुलुमा केही गर्न नसक्ने भएरै आफू राप्रपा नेपालमा प्रवेश गरेको बताए । अर्र्का केन्द्रीय सदस्य राजकुमार पोखरेलले सानातिना कुराहरु बिर्सिएर एक जुट हुन आवश्यक रहेको औंल्याए । उनले भने – ‘हामी व्यक्तिको, समाजको लागि मात्र होइन राष्ट्रको लागि लड्दैछौं यतिबेला हामीलाई एकताको खाँचो छ ।’