३० आश्विन २०८३, शुक्रबार

लस भेगमको भयानक गोलीकाण्डपछि अमेरिकामा बन्दुकमाथि प्रतिबन्ध लगाउने तयारी

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । संयुक्त राज्य अमेरिकामा शक्तिशाली बन्दुक समर्थक समूह न्यासनल राइफल एशोसियशन (एनआरए) ले लास भेगस गोलीकाण्डमा प्रयोग भएको ‘बम्प स्टक’ भनिने उपकरण सम्बन्धी थप नियमको आवश्यकता औंल्याएको छ।

लास भेगममा ५८ जनाको हत्या गरेका स्टिभन प्याडकले आफ्ना केही बन्दुकलाई ‘बम्प स्टक’ भनिने उपकरण प्रयोग गरेर स्वचालित बनाएका थिए।

एनआरएले भनेको छ, अर्ध स्वचालित राइफललाई पूर्ण स्वचालित बनाउन तयार गरिएको उक्त उपकरणको अतिरिक्त नियमन आवश्यक छ।

उसले बिहिबार नियामकहरुलाई ‘बम्प स्टक’ प्रविधि संघीय कानूनसँग तादातम्य राख्छ कि राख्दैन भन्ने समिक्षा तत्काल गर्न आग्रह गरेको छ।

उक्त घटना उद्धृत गर्दै एनआरएको वक्तव्यमा ‘अमेरिकी जनताले भविष्यमा कसरी दुखान्त घटना रोक्ने भन्ने प्रश्नको जवाफ खोजिरहेको’ उल्लेख छ।

वर्षौंसम्म बन्दुक नियन्त्रण प्रयत्न रोक्दै आएका रिपब्लिकनहरुले पनि उक्त उपकरणमाथि प्रतिबन्ध लगाउन सकिने बताएका छन्।

बीबीसीका निक ब्रायन्ट भन्छन्, “रिपब्लिकन सभामुख र अन्य बरिष्ठ नेताहरुले पनि थप नियमनको आग्रह गरेका छन्।”

अमेरिकी तल्लो सदनका रिपब्लिकन सभामुख पल रायनले आइतबारको गोलीकाण्डअघि ‘बम्प स्टक’बारे आफूलाई कुनै जानकारी नरहेको भन्दै कंग्रेसले उक्त मुद्दा हेर्नुपर्ने प्रस्तावको समर्थन गरेका छन्।

सांसदहरुले त्यसबारे बहस गर्ने योजना बनाएका छन्। उक्त उपकरण बन्द गर्ने विधेयक बनाउने बताइएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त प्रविधिमाथि प्रतिबन्ध लगाउन विचार गर्न सक्ने जानकारी दिए। उनले निश्चित छोटो समयको निम्ति त्यसमाथि प्रतिबन्ध लगाउनेबारे आफ्नो प्रशासनले विचार गरिरहेको संवाददाताहरुलाई बताएका छन्।