चितवन, २३ कात्तिक । विगत केही समययता ओरालो लागेको अण्डाको मूल्य बढ्न थालेको छ ।
लागत मूल्य बढ्दै जाने र उत्पादनको मूल्य घट्दै जाँदा नोक्सान व्यहोरिरहेका अण्डा उत्पादक कृषकलाई यसले राहत दिने भएको छ ।
झन्डै नौ महिना अघिसम्म रु ३२० सम्म पुगेको अण्डाको मूल्य घटेर रु २४० मा झरेको थियो । माग घटेसँगै मूल्य पनि घट्ने गर्दछ । पूर्वी नेपालको बारामा यस वर्ष सुरु हुन लागेको गढीमाई मेलाको चहलपहलसँगै अण्डाको माग बढेर गएको व्यवसायीहरू बताउँछन् ।
नेपाल अण्डा उत्पादक सङ्घका महासचिव त्रिलोचन कँडेलका अनुसार अहिलेको महँगीमा प्रतिक्रेट रु ३०० लागत मूल्य पर्दछ । बजारमा हाल ठूलो अण्डा रु २८५ र सानो अण्डा रु २६५ प्रतिक्रेटमा बिक्री भइरहेको छ ।
मुख्य रूपमा दानाको मूल्य बढी हुँदा कृषकको लागत मूल्य बढी पर्न गएको कँडेलले बताउनुभयो । दानाका लागि अधिकांश कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने हुन्छ ।
पछिल्लो समय लाइसन, मिथुनियम, मिनरल, भिटामिन जस्ता कच्चा पदार्थको मूल्य ह्वात्तै बढेको छ भने अन्य कच्चा पदार्थको मूल्य पनि उच्च रहेको व्यवसायीको भनाइ छ ।
दानासँगै काम गर्ने मजदुर, विद्युत्, यातायातलगायतका खर्च बढिरहँदा उत्पादन लागत बढ्न गएको दाना उद्योग सङ्घ चितवनका अध्यक्ष दुर्गाप्रसाद भण्डारी बताउनुहुन्छ ।
हाल बजारमा अण्डा उत्पादन गर्ने कुखुराका लागि खुवाउने दानाको मूल्य प्रतिकेजी रु ३७ देखि ३८ रहेको छ । नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार विगत केही महिना माग घटेको अण्डा पछिल्लो समय बढेर गएको छ ।
केसीका अनुसार चहलपहल सुरु भएको गढीमाई मेलामा भारतबाट मात्र ३० लाखभन्दा बढी भक्तजन आउने गर्दछन् । भक्तजनको चहलपहल बढेसँगै अण्डाको माग बढ्ने गर्दछ ।
चितवन जिल्लामा मात्रै दैनिक नौ लाख अण्डा उत्पादन हुन्छ । यो सङ्ख्या देशभरमा १७ लाख वटा रहेको छ । अध्यक्ष केसीका अनुसार, तीन हजारभन्दा बढी फार्ममा लेयर्स कुखुरा पालिएका छन् । जसमा १६ हजारभन्दा बढी मजदुर कार्यरत छन् । रासस














प्रतिक्रिया