२९ आश्विन २०८३, बिहिबार

असिना पानीले रु १३ करोडभन्दा बढी क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, १८ कात्तिक । गत ८ गते भाइटीकाका दिन जिल्लाका सात गाविसमा परेको असिना पानीले रु १३ करोडभन्दा बढीको बाली क्षति भएको जिल्ला कृषि विकास कार्यालयले तथ्याङ्क पेस गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मुगुको कार्यालयमा सोमबार बसेको जिल्ला दैवी प्रकोप उद्घार तथा राहत समितिको बैठकमा असिना पानीले जिल्लाका सात गाविस श्रीनगर, कार्कीवाडा, सेरी, श्रीकोट, गम्था, खमाले र कोटडाँडामा रु १३ करोड ५० लाख ६५ हजारबराबरको धान, पाखेधान र अन्य बर्खे बाली नष्ट गरेको तथ्याङ्क पेस गरेको हो ।

असिना पानीले बर्खे बाली क्षति गरेपछि यकिन क्षतिको तथ्याङ्क कार्यालयले समयमै सङ्कलन गर्नुपर्नेमा चाडपर्वमा कार्यालयका प्राविधिक जनशक्ति घर गएकाले क्षतिको तथ्याङ्क सङ्कलन गर्न केही ढिला भएको बताउँदै जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकारी चेतनारायण पाण्डेले असिना पानीले सबैभन्दा बढी रोपेको धान क्षति गरेको र क्षतिलाई गाविसका रुपमा वर्गीकरण गर्दा श्रीकोट गाविसमा रु चार करोड १८ लाख ६५ हजार, श्रीनगर गाविसमा रु दुई करोड १७ लाख २५ हजार, कार्कीवाडा गाविसमा रु दुई करोड १७ लाख २५ हजार, सेरीमा रु एक करोड ९८ लाख ४० हजार, गम्थामा रु एक करोड ५३ लाख १५ हजार, कोटडाँडामा रु एक करोड ११ हजार र खमाले गाविसमा रु ३४ लाख ९५ हजारको क्षति भई ती गाविसका दुई हजार ६०८ घरधुरी प्रभावित भएको बताउनुभयो ।

कृषकलाई हातमुख जोड्न समस्या रहेकाले तत्काल राहतका लागि पहल गर्न जिल्लामा क्रियाशील राजनीतिक दलहरुले प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलाई आग्रह गरेपछि प्रजिअ रेग्मीले जिल्ला राहत कोषमा यति धेरै घरधुरीलाई धान्न सक्ने राहत नभएको वताउनु भएको थियो ।

गत १३ र १४ गते रारामा सम्पन्न भएको रारा जलवायु सम्मेलनमा सहभागी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा गोविन्द पोखरेललाई सरकारसमक्ष पेस गरिदिन पीडित कृषकले ज्ञापनपत्र बुझाउँदा उहाँले जतिसक्दो चाँडो राहतका लागि पहल गर्ने प्रतिबद्घता जनाउँदै क्षतिको प्राविधिक मूल्याङ्कन र पीडित परिवारको सङ्ख्या उल्लेख गरी निर्णयसहित पहल गरिदिन र राहत उपलब्ध गराइदिन गृह, स्थानीय, कृषि र प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताउनुभयो ।

मुगु जिल्लाका स्थानीय विकास अधिकारी नारायणप्रसाद रिसालले सरकारी कार्यालयहरुमा राहत सहयोग भनेर छुट्टै कोषको व्यवस्था नहुने भएकाले तत्काल राहतका लागि सानोतिनो सहयोगले नधान्ने भएकाले १९ गते जिल्लामा रहेका सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरुलाई आर्थिक वर्ष २०७०÷७१ का जिल्लामा गर्नुपर्ने कार्यक्रमसहित भेला गराएर तत्काल गरिनुपर्ने कार्यक्रमहरुको सूची तयार पारेर प्रभावित गाविसमा काम सुरु गर्न लगाउने बताउनुभयो ।

पीडित परिवारको प्रतिनिधित्व गर्दै श्रीकोट–२ रोल गाउँका गोकर्ण शाहीले भने ‘राज्यले मुखमा माड लगाउन तत्काल सक्दैन भने कुनै विकास योजना देओस् हामी काम गरेर भए पनि आफ्नो पेट र घरपरिवार पाल्छौँ ।’

‘असिना पानीले क्षति पुगेको हप्तादिनभन्दा बढी भइसक्दा पनि कुनै पनि निकायबाट राहत नपाउँदा भोकभोकै र छरछिमेकीको सहयोगमा दिन काट्दै आएको अब कति अर्काको भरमा पेट पाल्नु, लोग्नेलाई भारतमा काम गर्न पठाउनु प¥यो कमाएर पैसा पठाएमा जहान पाल्न सजिलो होला, हामी महिला कहाँ जानु’, श्रीकोट सैन गाउँकी पन्चु रावतले आँसु पुछ्दै बोलिन् ।

स्मरण रहोस् रारा तालको किनारमा जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे गत १३ र १४ गते सम्मेलन भैरहँदा सम्मेलनस्थल बाहिर असिना पीडितहरुले असिनाले झारेका धानका बुटासहित नाराबाजी गरेका थिए । रासस