२१ कार्तिक २०८३, शनिबार

दुई नम्बर प्रदेशमा कांग्रेसले केन्द्रीय तहबाट तालमेल गर्दैन्ः रामशरण महत

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, १९ भदौ । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले पार्टीभित्र धेरै मतान्तरका विषय झाँगिदै गए पनि त्यसलाई भरसक पार्टीभित्रै बृहत् बहस र संवाद गरेर मिलाउने विषयमा आफू सधैँ सक्रिय रहँदै आएको बताउनुभएको छ ।

डा महतले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्थानीय सञ्चारकर्मीले वर्तमान अवस्थामा पार्टीभित्र देखिएको तिक्तताका सम्बन्धी जिज्ञाशामा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

विधिको शासन हुनुपर्छ भन्नेमा आफूले अडान राख्दै आएको स्पष्ट पार्दै उहाँले पार्टीलाई विधान बमोजिम चलाउने विषयमा नेतृत्व तहले जिम्मेवार भएर बहस चलाउन जरुरी रहेको र नेपाली काँग्रेस पार्टीलाई अरु पार्टीभन्दा मजबुत तुल्याउन नेतृत्व तह संवेदनशील हुनुपर्नेमा पनि जोड दिनुभयो ।

पूर्व अर्थमन्त्री डा महतले प्रदेश नं २ मा हुन लागेको निर्वाचनमा पार्टीको केन्द्रीय तहबाट तालमेल नहुने स्पष्ट पार्दै स्थानीय तहमा देखिएको आवश्यकताले अन्य राजनीतिक दलसँग तालमेल भएको अवस्थामा केन्द्रले त्यसलाई सहमति दिने पनि स्पष्ट पार्नुभयो ।

काँग्रेसलाई देशको पहिलो पार्टी बनाउनका लागि नेतृत्वले गुट उपगुट वा तेरो र मेरो भन्ने भावनालाई त्यागेर पार्टीको मान्छे भन्ने भावनाको विकास गर्न जरुरी रहेकामा जोड दिँदै उहाँले पार्टी सक्षम बन्यो भनेमात्र देशको विकासले गति लिने पनि आफ्नो अवधारणा रहेको बताउनुभयो ।

डा महतले बाढीले क्षतिग्रस्त बनेको र घरबासविहीन बन्न पुगेका पीडितको पक्षमा काँग्रेसले राहतसँगै उनीहरुको बचाउका लागि सक्दो सहयोग गर्दै आएको र भविष्यमा पनि सहयोगको निरन्तरता रहने जानकारी दिँदै प्रभावित क्षेत्रको पूर्वाधार विकासमा विस्तृत योजना बनाएर काम गर्नका लागि ध्यान दिन जरुरी छ भन्नुभयो । रासस