जुम्ला । जुम्लाको ताम्ती–५ बाह्रगाउँमा अवस्थित महादेव स्थानमा अहिलेसम्म पनि गाईको ६ सय वर्षको पुरानो घिउ तामाको गाग्रीमा राखिएको छ ।
कर्णालीका सांस्कृतिक तथा कुल देवीदेवताका रुपमा रहेका कालिका मालिका, नदै, लाटसित, मस्टो, भयाँर, महादेव, कैलाश आदिको पूजाआजा विभिन्न समयमा गर्ने गरिन्छ । ती देवीदेवतामध्ये प्रत्येक वर्ष भाद्र पूर्णिमाका दिन बृहत् मेला लाग्ने महादेव देवताको मूल गभ्भीर (भण्डार)मा राखिएको छ। घिउ हरियो रङमा परिणत भएको छ । बाह्र मूल धामी र डाँग्रीको पुस्ता पुगेको उक्त गाउँमा रहेको सो देवस्थानबाट कुनै एक पटक मात्र राससका तत्कालीन जुम्ला प्रतिनिधि तथा प्राज्ञिक व्यक्तित्व रत्नाकर देवकोटाले रागन अर्थात् बाथ रोग निको पार्न प्रयोग गरेको स्थानीय समाजसेवी शेरबहादुर रावतले बताउनुभयो ।
समाजसेवी रावतका अनुसार महादेवस्थान नजिक दुई शताब्दी पुरानो देवदारको रुखमा तामाको हुन्डो (गाग्री) पनि राखिएको छ । थालनीमा मात्र १२ घरधुरी बास गरेबाट बाह्रगाउँ नामकरण भएको उक्त गाउँमा रहेको महादेवस्थानबाट सर्वसाधारणले चाहेको बेला घिउ निकाल्न पाउँदैनन् ।
पछिल्लो समयमा एक दुई जनाले भाद्र पूर्णिमामा मेला लागेको समयमा मूल डाङ्ग्रीबाट घिउ लिएको सोही गाउँका नरबहादुर रावतले जानकारी दिनुभयो । अन्य समयमा कुनै पनि व्यक्तिले सो स्थलमा रहेको घिउ लिन साहस नगर्ने स्थानीयवासीइ बताउँछन् ।
यदि कोही कसैले त्यसो साहस गरेको खण्डमा महादेवले उसको कुल वंश नै समाप्त गर्ने ताम्तीवासीको विश्वास छ । छिमेकी गाविस कुडारी, तातोपानी, रारालिही, मालिकाठाँटा, हाँकु र लाम्राका बासिन्दाले विभिन्न रोगबाट मुक्ति पाउन उक्त घिउ लिन चाहे पनि दिन नमिल्ने सम्बन्धित बाह्रगाउँवासी बताउँछन् ।














प्रतिक्रिया