२१ कार्तिक २०८३, शनिबार

शिवराज नगरमा जथाभावी फोहोर गर्नेलाई जरिवानासहित कारवाही

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा(कपिलवस्तु), १३ भदौ । शिवराज नगरपालिकालाई खुला दिसामुक्त बनाउन यतिबेला अभियानलाई तिब्रता दिइएको छ । अभियानको क्रममा मंगलबार बिहान चन्द्रौटा बजार सरसफाई गरिएको छ ।

सरसफाईको अभावमा केही समय यता चन्द्रौटा बजारमा थुप्रिएको फोहोर अभियान टोलीले सफासुग्घर पारेको छ । बजार सरसफाईपछि अहिले चन्द्रौटा बजार सुन्दर, सफा र हराभरा देखिन थालेको छ । शिवराज नगरपालिकाको आयोजना र युनिसेफ नेपालको सहयोगमा संचालन गरिएको अभियान अन्तर्गत चन्द्रौटा बजार सरसफाई गरिएको कार्यदलका संयोजक महादेव पोखरेलले जानकारी दिनुभयो । उहाँले अभियानलाई सफल बनाउन सम्पूर्ण नगरबासीमा आ आफ्नो क्षेत्रबाट अभियानमा जुट्न अपिल गर्नुभयो ।

सरसफाईमा सक्रिय सहभागिता जनाउनुभएकी शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरी नै हातमा कुचो लिएर सरसफाईमा सरिक हुनुभयो । चन्द्रौटाका बासिन्दालाई सरसफाई जागरुक गराउन आफूहरु अगुवाई गरी सरसफाईमा सहभागिता जनाएको नगर उपप्रमुख शिवकुमारीको भनाई छ । सरसफाईमा सहभागिता जनाउँदै सबैलाई आफ्नो व्यक्तिगत र घरआँगनको सरसफाई स्वयं गर्नुपर्ने उहाँले अपिल गर्नुभयो ।

सरसफाईमा सक्रियता सहभागिता जनाउँदै इलाका प्रशासन कार्यालयका शाखा अधिकृत जगदीश अर्यालले धारणा परिवर्तन नभएसम्म समाज परिवर्तन हुन नसक्ने तर्क राख्नुभयो । शाखा अधिकृत अर्यालले आफ्नो वरिपरिको फोहोर आफैंले व्यवस्थापन गर्नुपर्ने जिकिर गर्नुभयो । सरसफाईले नै मानव दीर्घजीवि हुने बताउँदै सबैलाई सरसफाईमा सरिक हुन उहाँले आग्रह गर्नुभयो ।

शिवराज नगरपालिकाका कार्यकारी अधिकृत शेषकान्त पौडेलले चन्द्रौटा बजारक्षेत्रका सम्पूर्ण उद्योगी, व्यापारी एवं घरधनिले घर, पसलबाट निस्किएको फोहोर नगरपालिकाको सवारीमा राखीदिन आग्रह गर्नुभयो । यदि सरसफाईमा अटेरी गरेमा शुरुमा पाँच सय जरिमाना असुली गरिने उहाँले चेतावनी दिनुभयो । यदि पटक पटक अटेरी गरेमा एक हजार हुँदै पन्ध्रसय सम्म जरिमाना असुल्ने उहाँको जोड थियो ।

सरसफाई कार्यक्रममा सहभागिता जनाउँदै वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले बजारक्षेत्रमा जथाभावी फोहोर गर्नेलाई जरिवानाका साथै वातावरण ऐन २०६८ ले तोकेबमोजिम तीन महिना कैद सजाय गरिने चेतावनी दिनुभयो । प्रहरी निरीक्षक भट्टराईले सबैलाई आफू र आफ्नो वरपरको सरसफाई आफैं नगरेसम्म समाज परिवर्तन हुननसक्ने बताउनुभयो ।

कार्यक्रममा चन्द्रौटा नगरविकास समिति अध्यक्ष हरिप्रसाद पोख्रेल, राजनीतिज्ञ विनोद नेपाल, हुमकान्त खनाल, विष्णुप्रसाद अधिकारी, राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका सभापति विष्णुप्रसाद खतिवडा, होटल तथा रेष्टुरेन्ट व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्ती, सगरमाथा वेल्फेयर सोसाइटीका अध्यक्ष नेत्रप्रसाद बेल्बासे, शिवराज नगरपालिकाका जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, वडा प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल विन्ध्याबासिनी गणका प्रहरी टोली, समाजसेवी, बुद्धिजिवी, स्थानीय बासिन्दा, मानवअधिकारकर्मी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

“शिवराज नगरपालिकाको पहिचान, घरघरमा सरसफाई तथा स्वच्छता जागरण अभियान” मूल नाराका साथ आगामी मंसिर २५ गते खुला दिसामुक्त नगर घोषणा गर्ने लक्ष्य लिएर अभियानलाई तिब्रता दिँदै आएको हो ।