बारा, ११ भदौ । नेकपा (एमाले) का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव नेपालले मधेशको विकासमा एमाले प्रतिवद्ध रहेको बताउनुभएको छ । आज बाराको परवानीपुरमा चुनावी सभालाई सम्वोधन गर्दै बरिष्ठ नेता नेपालले उक्त कुरा बताउनुभएको हो ।
नेपालले मधेशी जनताको हकअधिकार र मधेशको विकासको लागि एमालेले सरकारमा बसेर उदाहरणीय ढंगले काम गरेको दावी गर्नुभयो । नेपालले अन्य प्रदेशमा जस्तै दुई नम्वर प्रदेशमा पनि एमालेको पक्षमा लहर चलेको र जनता एमालेको पक्षमा देखिएकोले पहिलो पार्टीको रुपमा स्थापित हुने बताउनुभयो ।
मधेशमा बाढी डुबानको समस्याले जनता आहत भएको समयमा एमाले जनताको घरदैलोमा रहेको तर आफुलाई मधेशको मसिहा ठान्ने पार्टीहरु काठमाडौंमा नै केन्द्रीत भएका छन । भारतीय पक्षको हित र स्वार्थमा रहेको उच्च बांधहरुको कारण तराई डुबिरहदा चुंसम्म नबोल्नेहरुलाई जनताले चिनिसकेका छन् । एमालेले राष्ट्रियता, व्यवस्थित जनजिविका र समृद्धिका लागि दृढ सोचसहित अघि बढेको कारण कुनै ताकतले हराउन नसक्ने र आगामी प्रदेश र केन्द्रको निर्वाचनमा एमाले बहुमतसहितको पार्टी हुने ठोकुवा गर्नुभयो ।
नेपालले मधेशी जनताको पहिचान र अधिकारको कुरा गर्ने र अवसर पाउदा सिन्कोसमेत नभांच्ने मधेशकेन्द्रीत दलहरुबाट मधेशमा परिवर्तन सम्भव छैन । कांग्रेसले १७ वर्ष सरकारको नेतृत्व गरेर पनि मधेशको विकासमा खासै योगदान पुर्याउन सकेन । नेपालले एमाले सरकारले गांऊको विकासका लागि आफनो गांउ आफै बनाऔं, सामाजिक सुरक्षाभत्ता प्रदान गरेर स्थानीय विकास र सुरक्षाको अभियान सुरु गर्दा त्यसको प्रत्यक्ष लाभ मधेशले पनि पाएको छ । जनता आवास कार्यक्रम, जिल्ला सदरमुकाम विकास विशेष कार्यक्रम एमालेले अघि बढाएको हो । मधेशसंग जोडिएको दोस्रो अन्तरराष्ट्रिय बिमानस्थल, द्रुतमार्ग र हुलाकीमार्गलगायत योजनाहरु एमालेकै पालामा प्रस्तुत भएका हुन ।
कार्यक्रममा एमाले पोलिटव्युरो सदस्यहरु नागेन्द्र चौधरी र शत्रुघन महतो, केन्द्रीय वैकल्पिक सदस्य दिनेश राई, केन्द्रीय सल्लाहकार अच्युत मैनाली, पूर्वमन्त्री पुरुषोत्तम पौडेल, जिल्ला अध्यक्ष सुन्दर बिश्वकर्मा, उपाध्यक्ष देवनारायण चौधरी, सचिव एम. समिउल्लाह, जिल्ला सचिवालय सदस्य डा. कृृष्ण पौडेल, क्षेत्रीय अध्यक्ष राम क्षेत्री पटेल, सोचन यादवलगायतले बोल्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गांउ संयोजक अमर यादव र सहजीकरण उमेश गुप्ताले गर्नुभएको थियो ।
आजै नेपाली कांग्रेसका प्रमोद कलवारलगायत कांग्रेस, माओवादीकेन्द्र र राष्ट्रिय जनता पार्टीलगायत विभिन्न पार्टी परित्याग गरी पचास कार्यकर्ता एमालेमा प्रवेश गरेका छन । नवप्रवेशीहरुलाई बरिष्ठ नेता नेपालले टिका लगाई स्वागत गर्नुभएको थियो ।
आजै जीतपुरसिमरा उपमहानगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई बरिष्ठ नेता माधव नेपालले सम्वोधन गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय वैकल्पिक सदस्य दिनेश राई, जिल्ला अध्यक्ष सुन्दर बिश्वकर्मा, प्रदेश कमिटी सदस्य सीता गुरुड्ड, उपाध्यक्ष देवनारायण चौधरी, सचिवालय सदस्य डा. कृष्ण पौडेलको उपस्थिति रहेको थियो । नगर संयोजक कृष्ण खनालको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।














प्रतिक्रिया