२१ कार्तिक २०८३, शनिबार

यी हुन घोराही–लमहीमा ३२ महिनासम्म सडक र पुल नबनाउने ठेकदार ?

14.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, ११ भदौ । दाङको घोराहीस्थित घोराही– १५ र १४ को मुटु मानिने घोराही–लमही सडक खण्डमा ठेकेदारको लापरवाहीले नाला र सडक अस्तब्यस्त भएपछि ब्यवसायीहरु आक्रोशित भएका छन् ।

वर्षातको झरीमा नाला र सडक अस्तब्यस्त हुँदा ब्यवसायीहरुको घरमा सडक र नालाको पानी पसेको छ । जसका कारण पसलमा भएका सामानहरु भिजेका छन् भने खाद्यान्न तथा दैनिक उपभोग्य बस्तुहरु काम नलाग्ने भएका छन् ।

निर्माण हुदै गरेको सडक र नालाका कारण धेरै स्थानमा पानी जम्मा भएको छ । जसले गर्दा पैदल यात्रुहरुलाई आवतजावतमा नै समस्या भएको छ ।

सडक निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनी शंकरमाली निर्माण सेवाको चरम लापरवाहीका कारण अहिलेसम्म सडक निर्माण भएको छैन् । १४ महिनाको ठेक्का ३२ महिनासम्म पनि सडक निर्माणको काम अत्यन्तै ढिलासुस्ती देखिएको छ ।

यसमा पनि घोराही उपमहानगरपालिकाले खासै चासो दिएको छैन् । घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले सडक निर्माणका लागि खासै दवाव दिन सकेका छैनन् । सडक निर्माण गर्ने भनि जिम्मा लिएका निर्माण कम्पनीका पदम शर्माले सडक निर्माणमा ध्यान दिनुभन्दा त्यस क्षेत्रका सांसदलाई रिझाएर म्याद थप्नमात्र दबाब दिने गरेका छन् । सांसदको साथ पाएका कारण पनि शर्माले सडकको निर्माणलाई चासो दिएका छैनन् ।

शर्मा दाङ जिल्लाभरि बदनाम ठेकेदारका रुपमा परिचित छन् । ठेकेदार शर्मालाई नेपाली कांग्रेस दाङका एक युवा सांसदको संरक्षण रहेको स्रोतको भनाइ छ । शर्माले राजनीतिक संरक्षणका कारण जथाभावी बोल्ने र काम नगर्ने बरु कसैले काम गर्न आग्रह गर्दा ज्यान मार्नेसम्मको धम्की समेत दिने गरेका छन् ।

सडक निर्माण नहुँदा यहाको सडकको दुरदर्सा हरीविजोग छ । अहिलेसम्म सांसद नै मन्त्रालय पुगेर निर्माण कम्पनीको म्याद थप्ने काम भइरहेको छ । शर्माले यो सडक मात्रै हैन घोराहीमा विभिन्न खोलाहरुमा पुल बनाउने कामको जिम्मा लिएका छन् । कटुवाखोलाको पुल पनि त्यस्तै दुरदशा छ । तिनको अवस्था पनि दयनीय छ ।

शर्मा घोराही १५ निवासी भरतपुरका हुन् । यद्यपी, शर्माले सडक कार्यालयले सडक निर्माण गर्दा लागेको खर्च समयमै नदिदा काम नभएको भन्दै जिम्मेवारीवाट पन्छिन खोज्ने गरेका छन् । त्यतिमात्र नभई दाङ निर्माण ब्यवसायी संघले समयमै सडक, पुल निर्माण नगर्ने निर्माण कम्पनीका प्रतिनिधिलाई आफ्नो सदस्यतावाट हटाउन सकेको छैन् ।