– सन्तोष यादब
सिरहा, ५ भदौं । सिरहाको औरही गाउँपालिका ५ का बाढीपीडितहरुलाई आइएमई ग्रुप र ग्याँस व्यावसायीले आज राहत वितरण गरेको छ ।
आइएमई ग्रुपले चालम, दाल, साबुन, लत्ताकपडा, शुद्ध पानी लगायतका १५ प्रकारका राहत सामग्री औरहीका ५३ बाढी पीडित परिवारलाई वितरण गरेको हो । राजमार्ग छेउछाउका बाढी पीडितलाई अधिकांश संघसंस्थाले राहत बाँडेपनि सिमावर्ती ग्रामिण भेगमा राहत नपुगेको गुनासो सुनेपछि औरही पुगेर राहत वितरण गरेको आइएमई ग्रुपका सिरहा प्रतिनिधि अरुण साहले जानकारी दिए ।
यस्तै जिल्ला ग्याँस व्यावसायी संघ र ग्याँस बिक्रेता महासँघले संयुक्त रुपमा औरही ५३ बाढी पीडित परिवारलाई राहत वितरण गरेको हो । च्यूरा, दालमोट, चाउँचाउँ, साबुन लगायतका समानहरु वितरण गरिएको संघले जनाएको छ । संघका सिरहा अध्यक्ष बिरेन्द्र झाले झाडापखालाबाट छोरी गुमाएका औरही ५ का गंगाराम साफीलाई ग्याँस चुल्हो र सिलिण्डर एक सेट सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
अध्यक्ष झाका अनुसार ईटाटार, लगडी गदियानी र ईटारीप्रसाही लगायतका ठाउँका बाढीपीडितलाई पनि राहत वितरण गरिएको छ । आइएमई ग्रुपले यसअघि सिरहाको कल्याणपुर गाउँपालिकाको इटारी प्रसाहीमा पनि राहत वितरण गरेको थियो ।
औरहीका बाढीपीडितहरुले सरकारी राहत अझै नपाएको गुनासो गरेका छन् । उनीहरुले च्यूरा दालमोट न पायौं, तर बाढीले घर भत्काएपछि बस्ने कहाँ भन्दै सरकारसँग घर बनाउन आर्थिक सहयोग मागेका छन् । अहिले औरहीमा झाडापखाला फैलिएपछि स्थानीय त्रसित बनेका छन् ।














प्रतिक्रिया