काठमाडौं, १ भदौ । ओम अस्पताल चावहिलको सहयोगका कारण महोत्तरीमा बाढी पीडित एक नाबालकको ज्यान जोगिएको छ । मनिता बैठाको कोखबाट जन्मिएका नाबालकको ज्यान डाक्टर राजीव खड्का नेतृत्वको टोलीले बचाएको हो ।
आज विहान जन्मिएका नाबालकको शरीरमा अक्सिजनको मात्रा अत्यन्त न्यून रहेको थियो । उनलाई अस्पताल वा अन्य स्वास्थ्य चौकीमा लैजाने कुनै सम्भावना थिएन । स्थानीय बलुवा गाउँमा डाक्टर खड्काले ओम अस्पतालको सवारी साधनमा रहेको अक्सिजन सिलिण्डर प्रयोग गरी ती नाबालकको ज्यान जोगाउनु भएको स्वास्थ्य टोलीसँगै रहनु भएका अस्पतालका प्रबन्धक विजय प्याकुरेलले जानकारी दिनुभयो ।
ओम अस्पतालको स्वास्थ्य टोली आफनो लागि भगवान सावित भएको मनिताका श्रीमान् नरेश बैठाले बताउनुभयो । बाढी पहिरो प्रभावित पूर्वी तराईका जिल्लाहरुमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन ओम अस्पताल चावहिलको एक टोली बुधवार विहान त्यसतर्फ गएको थियो ।
टोलीले क्रमशः महोत्तरी, मोरङ, सुनसरी, सिरहा, सप्तरी, रौतहट, बारा लगायतका जिल्लामा पुगी पीडितहरुको उपचार गर्नेछ । पाँच दिन सम्म तराईका विभिन्न जिल्लामा रहने टोलीले आवश्यक औषधिहरु समेत निशुल्क वितरण गर्नेछ । टोलीमा अस्पतालका डाक्टर, नर्स र अन्य कर्मचारीहरु गरी ११ जना रहेका छन् ।














प्रतिक्रिया