काठमाडौ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन जारी भएको २० वर्ष भइसक्दा पनि श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाको अवस्था कमजोर रहनु दुःखद् भएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।
महासंघको नवनिर्वाचित पहिलो केन्द्रीय समितिको बैठकले विभिन्न सञ्चार प्रतिष्ठानहरुमा श्रमजीवी पत्रकारहरुले न्यूनतम् पारिश्रमिकलगायत सामाजिक सुरक्षा र स्वास्थ्य उपचारसमेत नपाएको भन्दै तत्काल सो ऐन कार्यान्वयन गर्न सञ्चार प्रतिष्ठान र सरकारलाई आग्रह गरेको हो ।
श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न सबै पक्षसँग वार्ता र सम्वादमार्फत निरन्तर पहल गर्ने र सरकारलाई सो ऐन कार्यान्वयन गराउन आग्रह गर्ने निर्णय गरेको महासचिव उजिर मगरले जानकारी दिनुभयो ।
महाधिवेशनमा सहभागी हुन आउने क्रममा दुर्घटनामा परी घाइते हुनु भएका पोखराका पत्रकार बसन्त अधिकारी र बाँकेका पत्रकार नवीन गिरीलाई आर्थिक सहयोग गर्ने निर्णय बैठकले गरेको छ ।
यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, पूर्ण प्रेस स्वतन्त्रतासहितको नयाँ संविधान आगामी माघ ८ गतेभित्रै निर्माण गर्ने कार्यमा ध्यान केन्द्रित गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई महासंघले विशेष आग्रह गरेको छ ।
यस्तै २४ औँ महाधिवेशन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई महासंघले बधाई तथा धन्यवाद व्यक्त गरेको छ ।














प्रतिक्रिया