२८ आश्विन २०८३, बुधबार

हिमाली जिल्लामा पनि लामखुट्टेको बिगबिगी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dengue-mosquito-lamkhutte

जुम्ला । समयको गति चक्रसँगै मुलुकका माइनस १२ डिग्री सेन्टिग्रेडसम्म तापक्रम हुने हिमाली जिल्लामा पनि लामखुट्टेको बिगबिगी बढ्दै जान थालेको छ ।

पछिल्लो समयमा कर्णाली क्षेत्र पनि लामखुट्टेको चपेटामा पर्न थालेको छ । हिमाली भेकमा हिउँदको समयमा जाडो भए पनि वर्षामा तापक्रम बढी हुने र विकसित राष्ट्रले हरित ग्यासको उत्सर्जन गरी त्यसको प्रभाव अविकसित देशमा पार्दा भएको जलवायु परिवर्तनका कारण लामखुट्टेजस्ता थुप्रै रोग हिमाली जिल्लामा भित्रिन थालेको अनुसन्धानकर्ता बताउँछन् ।

सडकको विकाससँगै विकृति आयात हुँदा ग्रामीण भेकको सामाजिक तथा सांस्कृतिक वातावरणमा परिवर्तन आएको छ । आरामसँग सुत्ने गाउँका मान्छे अहिले लामखुट्टेबाट बच्न घरमा झुल किन्न बजार धाउन बाध्य छन् ।

कर्णालीका कालीकोट, मुगु र जुम्लाका ग्रामीण बस्तीका वासिन्दा लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे धूप, झुल, देवदारको तेल प्रयोग गर्न थालेका छन् ।

यता जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले सर्वसाधारण जनतालाई घर नजिक फोहर पानी जम्मा नगर्न, जथाभावी फोहर नगर्न सुझाएको छ । हिमाली जिल्लाको तापक्रम तथा हावापानी बर्सेनि परिवर्तन हँुदै गएका कारण बेसीमा सिर्जित रोग लेकतिर सर्न थालेको विज्ञहरूको भनाइ छ ।

तथापि विकाससँगै विनास ल्याउने यस्ता प्रकारका रोगब्याधी प्रकृतिको फेरबदलबाट स्वतःस्फूर्त आउने वातावरणविद् स्वीकार गर्दछन् ।

आखिर यस्ताखाले समस्या, खतरा एवम् रोगको निदान तथा निराकरणका लागि नेपाल सरकार तथा यसका सम्बन्धित मन्त्रालय, विभाग र मातहतका निकाय नै कटिबद्ध हुनुपर्दछ ।