२१ कार्तिक २०८३, शनिबार

शिवराज नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई ब्रह्मकुमारीद्वारा सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा(कपिलवस्तु), २९ असार । पन्ध्रवर्षपछि पहिलोपटक जनप्रतिनिधि पाउँदा यतिबेला सर्वसाधारणमा उत्साह छाएको छ । अहिले जनप्रतिनिधिहरुलाई स्वागत र सम्मान गर्नमै स्थानीयको दिन वित्ने गरेको छ । विभिन्न संघसंस्था, क्लब, आमा समूह लगायतले कार्यक्रमको आयोजना गरी जनप्रतिनिधिहरुलाई स्वागत र सम्मान गर्न होडबाजीमै व्यस्त छन् ।

यसैबीच स्थानीय तहको निर्वाचनबाट निर्वाचित शिवराज नगरपालिकाका प्रमुख, उप्रमुख सहितका जनप्रतिनिधिहरुलाई ब्रह्मकुमारी विश्वविद्यालय चन्द्रौटा कपिलवस्तुले स्वागत र सम्मान गरेको छ । ब्रह्मकुमारीले कार्यालयकै सभाहलमा आयोजित कार्यक्रमका बीच नव निर्वाचित प्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिवकुमारी चौधरीलाई सम्मान गरेको हो । कार्यक्रममा सहभागी वडा नम्बर १ का वडाध्यक्ष जगतबहादुर जि.सी., वडा नम्बर ५का वडाध्यक्ष अर्जुन बहादुर पाण्डेयसहित सम्पूर्ण ५ नम्बर वडाका पदाधिकारीलाई ब्रह्मकुमारीले सम्मान गरेको थियो ।

ब्रह्मकुमारी चन्द्रा दिदीले नव निर्वाचित शिवराज नगरपालिकाका प्रमुख, उपप्रमुख लगायत सम्पूर्ण जनप्रतिनिधिहरुलाई कार्यसफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा शिवराज नगरपालिकाका नव निर्वाचित नगर प्रमुख नेत्रराज अधिकारीले आस्था र विश्वासले मात्र संसार चल्न सक्ने तर्क राख्नुभएको थियो । जहाँ इच्छा, त्यहाँ उपाय भनेझैं हरेक काम गर्न आफूभित्र इच्छाशक्ति जगाउनुपर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले शिवराज नगरलाई नमूना नगर बनाउने प्रतिबद्धता जनाउँदै यसका लागि सबैको साथ, सहयोग र सहकार्य आवश्यक पर्नेमा जोड दिनुभयो ।

यसैगरी कार्यक्रममा नव निर्वाचित उपप्रमुख शिवकुमारी चौधरीले संसारको सृष्टि संचालन गर्ने मुख्य दायित्व नै नारी भएको बताउँदै नारी नै सृष्टिकर्ता भएको तर्क प्रस्तुत गर्नुभएको थियो । उहाँले आफूले पाएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो ।