२९ आश्विन २०८३, बिहिबार

देउवाले छाडेको क्षेत्रमा को-को उठ्दैछन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kailali-6

धनगढी । आगामी असार ८ गते हुने संविधानसभाको उपनिर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं ६ मा राजनीतिक दलले आ–आफ्नो दलका तर्फबाट उम्मेदवार छनोट गर्ने प्रक्रिया सुरु गरेका छन् ।

यस क्रममा राप्रपा नेपालले कैलाली क्षेत्र नं ६ बाट राजेश भण्डारीलाई उम्मेदवार बनाउने औपचारिक घोषणा गरिसकेको छ ।

केही दिनअघि यहाँ भएको सो पार्टीको कोणसभामा अध्यक्ष कमल थापाले भण्डारी आफ्नो पार्टीको उम्मेदवार भएको घोषणा गर्नुभएको थियो । हालैमात्र राप्रपा नेपालमा प्रवेश गर्नुभएका भण्डारी कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत हुनुहुन्छ ।

यसैगरी नेकपा एमालेले यो क्षेत्रबाट नेपालु चौधरी, यसअघि गएको मंसिरमा भएको निर्वाचनमा एमालेकातर्फबाट उम्मेदवार भई पराजित महेश्वर पाठकमध्ये एक जनालाई उम्मेदवार बनाउन लागेको एमाले पार्टी स्रोतले बताएकोे छ ।

उम्मेदवार छनोट गरी केन्द्रलाई सिफारिस गर्न एमाले कैलालीको बैठक शनिबार जिल्ला पार्टी कार्यालयमा बसेको बताइएको छ ।

नेपाली काँग्रेसका तर्फबाट भने आकांक्षी धेरै देखिएका छन् । मंसिरमा भएको निर्वाचनमा काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा ठूलो मत अन्तरले विजयी हुनुभएकाले पनि काँग्रेसका आकांक्षी बढी भएको बताइएको छ ।

यो क्षेत्रमा आगामी उपनिर्वाचनमा काँग्रेसकातर्फबाट धनगढी नगरपलिकाका पूर्व नगर प्रमुख किशोरकुमार बम, पूर्व राज्य मन्त्री पुष्करनाथ ओझा, काँग्रेसका जिल्ला सभापति नरनाराण शाह र नारायणदत्त भट्टमध्ये एक जनाले टिकट पाउनु हुने सो पार्टीका स्थानीय एक नेताले बताउनुभयो ।

एनेकपा माओवादीकातर्फबाट भने कसलाई उम्मेदवार बनाउने भन्नेमा अहिलेसम्म जिल्लास्तरमा कुनै तयारी हुन नसकेको सो पार्टीका जिल्ला नेता तीलकबहादुर सिंहले बताउनुभयो ।

विराटनगरमा हालै भएको महाअधिवेशनकै विषयमा पार्टीका नेता अल्मलिएकाले उपनिर्वाचनका लागि उम्मेदवार कसलाई बनाउने भन्नेमा कुनै तयारी नभएको सिंहले बताउनुभयो ।

यद्यपि उपनिर्वाचनमा एमाओवादीका कैलाली जिल्ला इन्चार्ज हरि चौधरी ‘उत्सव’ वा यसअघिको निर्वाचनमा क्षेत्र नं ५ बाट पराजित एमाओवादीका केन्द्रीय नेता लेखराज भट्टलाई पार्टीले उम्मेदवार बनाउन सक्ने सिंहले बताउनुभयो ।

गत मंसिरमा भएको निर्वाचनमा डडेलधुरा र कैलाली क्षेत्र नं ६ बाट विजयी काँग्रेसका वरिष्ठ नेता देउवाले कैलाली निर्वाचन क्षेत्र नं ६ छोड्नु भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

उक्त निर्वाचनमा कैलाली क्षेत्र नं ६ मा काँग्रेसका वरिष्ठ नेता देउवा १६ हजार ४८९ मत ल्याई विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का महेश्वर पाठकले आठ हजार ५६३ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै तेस्रो स्थानमा एमाओवादीकी लीला भण्डारीले चार हजार ७६४, चौथो स्थानमा फोरम लोकतान्त्रिकका लक्ष्मण चौधरी चार हजार ४७३ र पाँचौँ स्थानमा राप्रपा नेपालका पुष्करदत्त भट्टले दुई हजार ४७३ मत प्राप्त गर्नुभएको थियो ।