चन्द्रौटा, २ जेठ । तत्कालीन सदभावना पार्टीका सांसद (हाल राष्ट्रिय जनता पार्टी नेपाल) नरसिंह चौधरीका क्रियाकलापप्रति संघीय समाजवादी फोरम नेपालका प्रत्यक्ष निर्वाचित सांसद अभिषेकप्रताप शाहले असन्तुष्टि जनाएका छन् ।
कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रम अन्तर्गतको अनुगमन समिति संयोजक रहेका चौधरीले मानमर्दन हुने गरेर अधुरो प्रतिवेदन तयार पारेपछि सांसद शाहले असन्तुष्टि जनाएका हुन् ।
‘मेरो संसदीय क्षेत्र कपिलबस्तु क्षेत्र नं. ५ को निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमअन्तर्गतका योजना अनुगमन गर्दा अधुरो र प्रारम्भीक अवस्था मै रहेका योजनाहरू परेका छन्’ सांसद शाहद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘जातीय पूर्वाग्राही रुपमा सांसद नरसिंह चौधरीले अनुगमनका क्रममा सुरुआती अवस्थामा रहेका योजनाहरूलाई आधार बनाई म माथि लगाएका आरोपहरू निराधार र अर्थहीन छन् ।’
संघीय फोरमका सांसद शाहले भनेका छन्, ‘यसरी मेरो अनुपस्थितिमा मेरै संसदीय कोषको लगानीमा प्रारम्भीक अवस्थामा रहेका योजनाहरू अनुगमन गर्नु र हैकमबाजी तरिकाले ममाथि आरोप लगाइ मिडियाबाजी गर्ने कार्यप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘संसदीय क्षेत्रमा अनुगमनको बहाना बनाई मेरा कार्यकर्तामाथि अभद्र व्यावहार गरेका सांसद चौधरीको उक्त कार्यले सांसदको ओहदामा प्रश्न चिन्ह समेत खडा भएको छ’, सांसद शाहले जनाएका छन् ।
क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद शाहले आफ्नो क्षेत्र मात्र नभइ कपिलवस्तुमा हुने विकास निर्माणदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।
सांसद शाहको लोकप्रियताबाट सदभावना पार्टीका सांसद चौधरी आत्तिएर जथाभावी लाञ्जनाहरू लगाउने गरेको स्थानीयको आरोप छ ।












प्रतिक्रिया