२० कार्तिक २०८३, शुक्रबार

सरकारबाटै आचारसंहिता उलङ्घन हुँदा निर्वाचन आयोगले टुलुटुलु हेरेर बस्योः विजुक्छे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २८ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न हुनुपर्ने बताउनुभएको छ ।

आज तौमढीमा नेमकिपाद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले आचारसंहिता उलङ्घनका घटना व्यापक रुपमा भए पनि निर्वाचन आयोगले टुलुटुलु हेरेर बसिरहेको आरोप लगाउनुभयो ।

अध्यक्ष बिजुक्छेले निर्वाचनअघि उपप्रधानमन्त्री र मन्त्री नियुक्त गरेर सरकारले नै निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै दोस्रो चरणको निर्वाचन सकिएपछि मात्र बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सो पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले निर्वाचनमा केन्द्रीत भएर लाग्न कार्यकर्ताहरु आग्रह गर्नुभयो ।

नेमकिपाबाट भक्तपुर नगरपालिकाका प्रमुख पदका उम्मेदवार सुनिल प्रजापतिले ख्वप विश्वविद्यालय स्थापनासँगै भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्रका रुपमा विकास गर्ने र सुविधासम्पन्न अस्पतालको आवश्यकता औँल्याउनुभयो ।

पार्टीका भक्तपुर जिल्ला समितिका कार्यवाहक अध्यक्ष सुरेन्द्रराज गोसाईंले नेमकिपाले १५ वर्ष अगाडि नै स्थानीय तहको चुनाव गर्न माग गरे पनि अहिले आएर पूरा भएको बताउनुभयो ।

पार्टीबाट भक्तपुर नगरका उपप्रमुखका उम्मेदवार रजनी जोशीले घोषणापत्रअनुसार काम गर्ने पार्टी र उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो । भनपा वडा नं ९ का वडाध्यक्षका उम्मेदवार रवीन्द्र ज्याख्वले ०५६ सालमै भनपाले कलेज खोलेर जनताका छोराछोरीलाई सस्तोमा शिक्षा प्रदान गरेको बताउनुभयो ।

देशलाई समृद्धितर्फ लैजान स्थानीय तहको निर्वाचन– राणा

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले देशलाई समृद्धितर्फ लैजान र संविधान कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचन शान्ति पूर्णरुपमा सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।

आज चाँगुनारायण नगरपालिकामा राप्रपाले आयोजना गरेको ¥यालीसहितको घरदैलो कार्यक्रममा उहाँले भन्नुभयो, “भूकम्प गएको दुई वर्ष बितिसक्यो, यो अवधिमा सरकारले भूकम्पपीडितको समस्या सम्बोधन गर्न सकेनन्, पीडितले राहत, अनुदान पाउन नसक्दा र पुनःनिर्माण हुन नसक्दा समस्यामा छन्, यसको तत्काल समाधान हुनुपर्छ ।”

राप्रपाबाट चाँगुनारायण नगरपालिकाका प्रमुख पदका उम्मेदवार रवीन्द्रप्रताप शाह र उपप्रमुखकी उम्मेदवार यवती कार्कीले शान्त, स्वच्छ र समृद्ध नगरपालिका निर्माण गर्ने तथा विकासको मूल प्रवाहमा यो नगरपालिकालाई ल्याउन राप्रपामा मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो । रासस