२० कार्तिक २०८३, शुक्रबार

दोलखा घटनाका दोषीलाई कारवाही गर्न नागरिक अभियानको माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । नागरिक अभियानले दोलखामा एमाले कार्यकर्ता हत्या घटनाप्रति ध्यानाकर्षण जनाउँदै दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ ।

अभियानका सह अध्यक्षद्वय इन्द्रप्रसाद अर्याल र सुबोधराज प्याकुरेलले विहिबार एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्न सबैलाई कानुनी दायरमा ल्याउन, जनताको भयरहित वातावरणमा निर्वाचनमा भाग लिन पाउने अधिकारको ग्यारेण्टी गर्न तथा घाइतेको यथोचित उपचार गर्न माग गरेका हुन् ।

साथै अभियानले घटनाको सत्य तथ्य बुझ्न र स्वच्छ निर्वाचनका लागि एक टोली घटनास्थलतर्फ पठाएको छ ।

मंगलबार राति माओवादी केन्द्रको आक्रमणबाट एमाले युवा कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको थियो भने शिक्षक दिलबहादुर बुढाथोकी घाइते छन् ।

यस्तो छ प्रेस विज्ञप्ति:

गौरीशंकर गाउँपालिका-१ हुप्पाका ३३ वर्षीय कुलबहादुर तामाङलाई २०७४ वैशाख २६ गते राति नेकपा माओवादी -केन्द्र) का कार्यकर्ताले धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । चुनाव प्रचार प्रसारका क्रममा स्थानीय होटलमा बास बसेका एमाले कार्यकर्तालाई नेकपा माओवादी (केन्द्र) का कार्यकर्ताले कुटपिट गरेका थिए ।

घटना विवरणअनुसार होटलमा बसिरहेका एमाले कार्यकर्ता कुलबहादुरलाई माओवादी (केन्द्र) का कार्यकर्ताले कुटपिट गर्दै होटलबाट बाहिर ल्याइ सोही ठाउँको निलकण्ठेश्वर माविका प्राङ्गणमा पुर्‍याएर धारिलो हतियार (चुप्पी) प्रहार गरेका थिए । घाइते तामाङलाई उपचारको लागि काठमाडौँ लैजाने क्रममा मृत्यु भएको थियो । सो घटनामा सोही ठाउँ निवासी निलकण्ठेश्वर उच्चमाविका शिक्षक दिलबहादुर बुढाथोकी घाइते भएका छन् । उनको थप उपचार काठमाडौँमा हुँदैछ ।

प्रारम्भिक सूचना अनुसार घटनामा माओवादी कार्यकर्ताले केही राउण्ड हवाइफायरसमेत गरेका थिए । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरण गृह-मन्त्रालयले २०७३ चैत १६ गते एक सूचना प्रकाशन गरी २०७४  वैशाख १५ गतेभित्र इजाजत प्राप्त हातहतियारहरू स्थानीय प्रशासनमा बुझाइसक्न निर्देशन दिएको थियो तर माओवादी केन्द्रका कार्यकर्ताले हतियार स्थानीय प्रशासनले किन बुझाएनन् भन्ने यक्ष प्रश्न खडा भएको छ । स्थानीय प्रशासनले त्यस्ता हतियारहरू निर्वाचन सम्पन्न नभएसम्मका लागि स्थानीय प्रशासनमा बुझाउन आग्रह गर्दै आएको छ । प्रस्तुत घटनाले स्थानीय तह निर्वाचन आचार संहिता २०७३ को  उपदफा दुईको परिच्छेद पाँचमा उल्लेखित नागरिकको स्वतन्त्रतासम्बन्धी हकको उल्लङ्घन भएको हाम्रो ठहर रहेको छ ।

घटनामा संलग्न सबैलाई कानुनी दायरमा ल्याउन, जनताको भयरहित वातावरणमा निर्वाचनमा भाग लिन पाउने अधिकारको ग्यारेण्टी गर्न तथा घाइतेको यथोचित उपचार गर्न माग गर्दछौँ ।

घटनाको सत्य तथ्य बुझ्न स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको एक टोली घटनास्थालतर्फप्रस्थान गर्दैछ । भ्रमण टोली घटनास्थलबाट र्फकने बित्तिकै स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले थप विवरण सार्वजनिक गर्नेछ ।

 

इन्द्रप्रसाद अर्याल                                               सुबोधराज प्याकुरेल

सह-अध्यक्ष                                                        सह-अध्यक्ष