– शिशिर सिंखडा
चितवन, २७ बैसाख । कालिका नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार गोपी श्रेष्ठले नेकपा एमालेको विजय पश्चात् नगरभित्र रहेका सुकुम्वासी समस्या समाधान गर्ने आफ्नो पहिलो एजेण्डा रहेको बताएका छन् ।
नगरपालिका भित्र करिव ५० प्रतिशत पुर्जा विहिन वासिन्दा रहेको भन्दै उनले आफु विजय भएको ६ महिनाभित्र प्रक्रिया अगाडि बढाई जतिसक्दो छिटो यस नगरपालिकालाई सुकुम्वासी एवं पुर्जा विहिनमुक्त बनाउने बताए । कालिका नगरपालिकाको वडा नं. ६ सूर्यपुरमा आयोजित कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार श्रेष्ठले यस नगरपालिकालाई वृहत गुरुयोजनाका साथ समृद्ध र समुन्नत नगरपालिका बनाउने बताएका छन् । हाम्रो कालिका, राम्रो कालिका भन्ने मूल नारालाई मध्यनजर गर्दै यस नगरपालिकाभित्र सडक, ढल, बत्ती बिजुली, खानेपानी, सिंचाईको व्यवस्थापन गरी समृद्ध र समुन्नत नगरपालिका बनाई चितवनकै नमूना नगरपालिका बनाउन आफु र आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् ।
कालिका नगरपालिकालाई नमुना नगरपालिका बनाई “एक घर, एक रोजगार” अभियानलाई चरितार्थ पार्ने समेत बताए । नेकपा एमालेले नगरको सर्वाङ्गिण विकासको लागि गुरुयोजना तयार गरेको बताउँदै ५ वर्षभित्र चितवनकै नमुना नगरपालिका बनाउन आफु लागिपरेको बताए । नगर भित्र शिक्षा, स्वास्थ्य, रोजगारीको प्रत्याभूति दिलाउन सोही गुरुयोजना अनुसार नेकपा एमाले अगाडि बढेकोले नेकपा एमालेलाई मतदान गर्न समेत उनले आग्रह गरे । कार्यक्रममा उम्मेदवार श्रेष्ठले नेकपा एमालेले देखाएको राष्ट्रप्रेम र विकासको अवधारणाबाट विपक्षीहरु अत्तालिएको भन्दै एमालेको विजय पश्चात यस नगरको भविष्य उज्वल रहेकोले नेकपा एमालेलाई विजय गराउन उनले अनुरोध गरे । यस नगरभित्रका मठ, मन्दिर, गुम्बा, चर्चको संरक्षण र सम्वद्र्धन गर्दै अगाडि बढ्ने समेत उनले बताए । यही बैसाख ३१ गते हुने निर्वाचनमा मतदाताहरु नेकपा एमालेलाई आतुर रहेको भन्दै एमालेको जीत सुनिश्चित रहेको समेत उनले बताए ।
समृद्ध कालिका हाम्रो लक्ष्य – उपमेयर उम्मेदवार भट्टराई
कार्यक्रममा उपमेयरकी उम्मेदवार कमला भट्टराईले महिला, बालबालिकाको हक अधिकार सुनिश्चित गरी वृद्धवृद्धा भत्ता वितरणलाई समेत सहज बनाउने बताईन् । नगरभित्रका सबै सडकहरुको स्तरोन्नती गर्ने, खानेपानी, सिंचाई, ढल निर्माण गरी ५ वर्ष भित्र समृद्ध कालिका निर्माण गर्ने समेत उनले बताईन् । पहाडी क्षेत्र सिद्धि र शक्तिखोरलाई पर्यटकीय क्षेत्र, चेपाङ पैदल मार्गको रुपमा विकास गर्ने, चिउरी र चमेरोको संरक्षण, पदमपुर र जुटपानीलाई कृषिको आधुनिक खेती प्रणालीमा लैजाने र शक्तिखोरमा बन्न लागेको औद्योगिक क्षेत्रलाई चाडो भन्दा चाडो निर्माण गर्ने वातावरण तयार गरी नगरभित्रका सबै घरधुरीबाट रोजगारी ग्यारेन्टी गर्न समेत आफु प्रतिवद्ध रहेको बताईन् ।
नेकपा एमालेले यही बैसाख ३१ गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी नगरपालिकाका सबै वडाहरुमा घरदैलो, मतदाता भेटघाट तथा मतदाता शिक्षाको बारेमा जानकारी गराएको छ । नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारहरु वडा नं. १ का राजु राई, वडा नंं २ का सोम बहादुर गुरुङ्ग, वडा नं. ३ का टिकाराज रिजाल, वडा नं. ४ का आशाराम चौधरी, वडा नं. ५ का रुदल महतो, वडा नं. ६ का बिनोद रेग्मी, वडा नं. ७ का डिल्ली प्रसाद दवाडी, वडा नं. ८ का इम प्रसाद अधिारी, वडा नं. ९ का लेख बहादुर थापा, वडा नं. १० का मंगल सिं प्रजा र वडा नं. ११ का वडा अध्यक्षका उम्मेदवार कृष्ण बहादुर प्रजा लगायत वडा सदस्यका उम्मेदवारहरु र एमाले कार्यकर्ताहरुले आ–आफ्नो वडामा घरदैलो तथा मतदाता भेटघाट गरेका थिए ।













प्रतिक्रिया