– रबिना बोहरा
बागलुङ, २० वैशाख । स्थानीय तहको निर्वाचन नजिकिए संगै बागलुङ नगरपालिकाको मेयरमा उमेदवारी दिएकाहरु आ–आफ्नै चुनावी नाराका साथ प्रचार प्रसारमा लागेका छन् ।
धौलागिरिको पहिलो बागलुङ नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादीले आफ्नै उमेदवार उठाएको छ भने नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरी साझा उमेदार उठाएका छन् । केही स्थानमा भने नेपाली काँग्रेस, नेकपा माओवादीले तालमेल गरेका छन् । आ–आफ्नै नारा लिएर हिडेका मेयरका उमेदबारहरु शिक्षा, स्वास्थ्य, खानेपानी, ढल लगायत नगरको विकासलाई पहिलो प्राथमिकतामा राखेका छन् ।
बागलुङ नगरपालिकामा ८ जना मेयर, ५ जना उपमेयर, वडा अध्यक्ष एवं सदस्यहरु सहित २ सय २७ जनाले उमेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बागलुङ नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरका उमेदवार बसन्तकुमार श्रेष्ठ, उपमेयरमा शकुन्तला शर्मा, नेकपा एमाले र राप्रपाबाट मेयरमा एमालेका जनक पौडेल र उपमेयरमा राप्रपाका सुरेन्द्र खड्काले उमेदवारी दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रबाट नगरपालिकाको मेयरमा कुशुम बुढा र उपमेयरमा निर्मल श्रेष्ठले उमेदवारी दिएका छन् । यस्तै मेयरका लागि नेकपा मालेबाट मञ्जु क्षेत्री, संघिय समाजवादी फोरम नयाँ शक्ति नेपालका रेशम थापा मगर, स्वतन्त्रतर्फ तारा सापकोटा, सुमनजंग राजभण्डारी, दिपक हमालले उमेदवारी दिएको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले जानकारी दिनुभयो । यस्तै उपमेयरमा संघिय समाजवादी फोरम नयाँ शक्ति पार्टी नेपालबाट तारादेवि शर्मा, स्वतन्त्र तर्फ सुजता रिजालले उमेदवारी दर्ता गराएका हुन् ।
नेपाली काँग्रेसबाट मेयरका उमेदवार बसन्तकुमार श्रेष्ठले आधुनिक शिक्षामा लगी पर्यटन शिक्षालाई प्याकेजका रुपमा विकसित गर्ने योजना रहेको बताउनुभयो । उहाले अबको २ बर्ष भित्रमा १४ वडा वाडमा नै पक्की सडक सञ्जाललाई विकास गर्ने एवं खानेपानीको व्यवस्थापन गर्ने मुख्य योजना रहेको बताउनुभयो । नेकपा एमालेबाट मेयरमा उमेदवारी दिएका जनक पौडेलले सर्वप्रथम बागलुङ बजारको ढल व्यवस्थापन गर्ने र महिला, दलित, जनजातीको पहुँच बढाउन लागि पर्ने एवं मध्यपहाडी लोकमार्ग संग जोडिएका धार्मिक तथा पर्यटकिय क्षेत्रको विस्तार गर्ने उद्देश्य लिएको बताउनुभयो ।
यस्तै नेकपा माओवादी केन्द्रकी उमेदवार कुशुम बुढाले व्यवस्थित शहरका रुपमा विकास गर्ने, कृषि हाट बजार लगायतका योजना अघि सार्नुभएको छ । उहाले ठोस नीति लिएर सुन्दर नगरपालिका बनाउन लाग्ने भनाई राख्नुभयो । १४ वटा वाड रहेको बागलुङ नगरपालिकामा कुल ३४ हजार ५ सय २८ जना मतदाता रहेका छन् ।













प्रतिक्रिया