राजविराज, १८ वैशाख । अजित सिंह भनिने अजय यादवले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चा (अजित सिंह समूह) नेकपा (एमाले)मा विलय भएको छ ।
सप्तरीको लालापट्टी गाउँमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सिंहसहित सिङ्गो मोर्चा एमालेमा विलय भएको हो । एमाले स्थायी कमिटी सदस्य रामप्रित पासवानले सिंहसहित मोर्चाका नेताहरूलाई फूलमालाले पार्टी प्रवेश गराएका हुन् ।
मोर्चाका केन्द्रीय सदस्यहरू छेदी राम, अशोक यादव, देवराज यादव, छोटुबाबु, देवकुमार यादव, मोरङका इञ्चार्ज महेन्द्र मुखिया, सुनसरीका अध्यक्ष देवराज यादव, राजविराज नगर इञ्चार्ज विनोदकुमार दास, सप्तरी जिल्ला सदस्यहरू मनोज मुखिया, परमानन्द यादव, भुपेन्द्र यादव, प्रमोद यादव, श्रवण कामतलगायत नेताहरू एमाले पार्टी प्रवेश गरेको जनाइएको छ ।
कुनै बेला तराईका जिल्लामा सशस्त्र भूमिगत गतिविधि सञ्चालन गरेका सिंहले आफ्ना सबै हतियार सरकारलाई बुझाएर शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका थिए ।
तत्कालीन नेकपा (माओवादी) को भातृ संगठन मधेसी राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्वबाट हटाइएपछि जनतान्त्रिक तराई मुक्ति मोर्चा हुँदै अखिल तराई मुक्ति मोर्चा बनाएका जयकृष्ण गोइतसँगै काम गरेका करिब ४० वर्षीय सिंह सप्तरीको लालपट्टीका बासिन्दा हुन् ।
गोइतसँग चन्दाको विषयमा विवाद भएपछि उनले त्यही नामको अलग समूह बनाएर फाटफुट रुपमा सशस्त्र गतिविधि गर्दै आएका थिए ।












प्रतिक्रिया