२० कार्तिक २०८३, शुक्रबार

चितवनको कालिकामा एमालेको चुनावी कार्यक्रम

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शिशिर सिंखडा

चितवन, १५ वैशाख । नेकपा एमाले कालिका नगर कमिटीले यहि बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी घरदैलो, कोणसभा तथा मोटरसाईकल र्याली गरेको छ ।

पूर्वी चितवनको व्यापारिक केन्द्र खोलेसिमल बजारमा एमालेले कोणसभाको कार्यक्रम गरेको थियो । सो कोणसभा कार्यक्रममा नेकपा माओवादी केन्द्रका शिक्षक संगठनका जिल्ला सदस्य तथा बुद्धिजीवि संगठनका जिल्ला सदस्य नन्दलाल लामिछाने सहित रामप्रसाद पनेरु र सन बहादुर गुरुङ्ग नेकपा एमालेमा प्रवेश गरेका थिए ।

सो कार्यक्रममा नेकपा एमालेका क्षेत्रीय अध्यक्ष एवम् कालिका नगरपालिकाका मेयरका उम्मेदवार गोपी श्रेष्ठले कालिका नगरपालिकालाई समृद्ध र चितवनकै नमुना नगर बनाउन गुरुयोजनाका साथ नेकपा एमाले अगाडि बढेको बताए । खोलेसिमल बजारलाई नगरकै मुख्य व्यापारिक र व्यवस्थित बजार बनाउने, नगरमा व्यवस्थित खानेपानी, सडक, विभिन्न जातजाती र धर्मसंग सम्वद्ध संस्कृति जगेर्ना गर्न एमाले प्रतिबद्ध रहेको बताए । रेडक्रस बस्ती, सुन्दरबस्ती लगायतका ऐलानी जमिनमा बसोबास गर्ने नगरवासीलाई १ वर्ष भित्र जग्गाधनी पूर्जा उपलब्ध गराउने समेत उनले बताए ।

कार्यक्रममा उपमेयरका उम्मेदवार कमला भट्टराईले एमाले सरकारले शुरु गरेको वृद्ध भत्तालाई ५ हजार पुर्याउने र वृद्ध भत्ता वितरणमा थप सहजता बनाउने समेत उनले बताईन् । यस नगरलाई व्यवस्थित, सुन्दर र समृद्ध नगर बनाउने योजना एमालेसंग मात्र भएकाले एमाले उम्मेदवारहरुलाई यस निर्वाचनमा विजयी गराउन उनले अनुरोध गरिन् । कार्यक्रममा वडा नं. ६ का अध्यक्षका उम्मेदवार बिनोद रेग्मी, वडा कमिटीका संयोजक होम बहादुर गुरुङ्ग लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

साथै निर्वाचित लक्षित कार्यक्रम अन्तर्गत आज कालिका वडा नं. ६ को गुराउचौर, सिमलघारी, बेलचौर, पृथ्वीचोक, झब्दीटोल, कुमालटोल, मुनलाईट चोकसम्म वडा अध्यक्ष उम्मेदवार बिनोद रेग्मी सहितका टोलीले घरदैलो गरेको थियो । त्यस्तै वडा नं. ७ मा वडा अध्यक्षका उम्मेदवार डिल्लीराम दवाडी सहितको टोलीले मोटरसाईकल ¥याली गरेको थियो ।

र्याली लाहुरेचोक, स्याउलीबजार, तिवारीचोक, जुटपानीबजार, पृथ्वीचोक, खोलेसिमल हुँदै क्लवचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

त्यस्तै कालिका वडा नं. १ लंकालाईनमा वडा अध्यक्ष उम्मेदवार राजु राई सहितको टोलीले घरदैलो गरेको थियो । वडा नं. २ पदमपुरमा वडा अध्यक्षका उम्मेदवार सोम बहादुर गुरुङ्ग, वडा नं. ३ का वडा अध्यक्षका उम्मेदवार टिकाराज रिजाल, वडा नं. ४ का वडा अध्यक्षका उम्मेदवार आशाराम महतो र वडा नं. ५ का उम्मेदवार रुदल महतो सहितका एमाले कार्यकर्ताहरुले आ–आफ्नो वडामा मतदातासंग भेटघाट एवम् घरदैलो गरेका थिए ।

निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत कालिका वडा नं. ८ शक्तिखोरमा वडा अध्यक्षका उम्मेदवार इम प्रसाद अधिकारी, वडा नं. ९ का वडा अध्यक्षका उम्मेदवार लेख बहादुर थापा, वडा नं. १० सिद्धिका वडा अध्यक्षका उम्मेदवार मंगल सिं प्रजा र वडा नं. ११ सिद्धिका वडा अध्यक्षका उम्मेदवार दामाराम प्रजा सहितको एमाले कार्यकर्ताको टोलीले घरदैलो गरी आ–आफ्नो वडाका मतदातालाई भेटघाट गरेको नेकपा एमाले कालिका नगर कमिटीका कार्यालय सचिव लक्ष्मीनारायण चौलागाईले जानकारी दिए ।