२० कार्तिक २०८३, शुक्रबार

हामी प्रबल संग्रामी र जुझारु पार्टीको रुपमा उदय हुँदैछौः सुधिर (अन्तरवार्ता)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुधिर साह राष्ट्रिय राजनीतिक परिवेशलाई नजिकवाट नियाँल्ने अध्ययनशिल तथा सौम्य छविका धनी युवा हुन् । गोलवजार नगरपालिका ४ सिरहाका साहले ३० वर्ष टेकेका छन् । राजनीतिलाई वर्गिय, जातिय, क्षेत्रिय र लैङ्गिक विभेदहरुवाट मुक्त गराउने शान्तिपूर्ण अस्त्रको रुपमा प्रयोग गरिनुपर्ने मान्यता राख्ने साह न्याय र समानतामा आधारित सहिष्णु समाज निर्माण हुनु पर्ने बताउँछन् । राजनीतिले समाजलाई तोड्ने होईन जोड्नुपर्छ । समाजमा सहिष्णुता र मेलमिलापको तन्तुहरुलाई तोड्नु र भत्काउनुलाई उनी अपराधिक राजनीति भन्छन् । राजनीतिले गाँस, बास र कपासको ग्यारेण्टी गर्न आर्थिक समृद्धि ल्याउनु पर्ने, सुशासन र लोकतान्त्रिक पद्धतिवाट स्वतन्त्रता र समानता कायम गर्नु पर्ने राजनीतिको मूल ध्येय हुनुपर्छ भन्ने उनको ठम्याई छ । राजेन्द्र महतोले नेतृत्व गर्नुभएको सदभावना पार्टी छाडेर हालै संघीय समाजवादी फोरममा ठुलो दलवल सहित आवद्ध हुनुभएका सुधिर साहसंग पत्रकार सन्तोष यादबले गरेको कुराकानी :

किन सदभावना पार्टी परित्याग गर्नुभयो र किन संघीय समाजवादी फोरम रोज्नु भयो ?

– म सहित हामी हजारौको संख्यामा सदभावना पार्टी परित्याग गरी संघीय समाजवादी फोरममा प्रवेश गर्यौं । किनकी हामीले देख्यौं सदभावनाको नेतृत्वले राष्ट्रिय राजनीति गर्नै चाहेन । आफूलाई अनन्तकालसम्म क्षेत्रियताको संकुचित दायरामा सिमित राख्ने प्रयत्न गरेको देख्यौं । अनावश्यक आक्रमक र सामाजिक रुपमा एक्लिने खालको प्रवृति देखियो । हामीले चाहेको कुरा न्याय र समानतामा आधारित समाज हो । जहाँ विभेद नहोस् । हो नेपाली समाजमा विभेद छ । विभेदको अन्त्यका लागि हामी संघर्षरत छौ । तर संघर्षले समाजको सहिष्णुता भत्काउन हुँदैन । मेलमिलापको तन्तुहरुलाई तोड्नु हुँदैन । राजनीतिलाई वर्गिय, जातिय, क्षेत्रिय र लैङ्गिक विभेदहरुवाट मुक्त गराउने शान्तिपूर्ण अस्त्रको रुपमा प्रयोग गरिनुपर्छ । राजनीतिले गाँस, बास र कपासको ग्यारेण्टी गर्न आर्थिक समृद्धि ल्याउनु पर्ने, सुशासन र लोकतान्त्रिक पद्धतिवाट स्वतन्त्रता र समानता कायम गर्नुपर्ने राजनीतिको मूल ध्येय हुनुपर्छ । तर जातिगत वैमनस्यतालाई बढावा दिनु हुन्न् । यो कुराको अभाव देखियो सदभावना पार्टीको नेतृत्वमा । एउटा सानो क्षेत्रमा मात्र आफुलाई सिमित राख्न खाजेको देखियो । राष्ट्रिय रुपमा विस्तारित हुन चाहेको देखिएन ।

यता संघीय समाजवादी फोरमले आफूलाई राष्ट्रिय स्तरमा फैलाउन प्रयत्न गरेको देखियो । यो पार्टीले सुरुमा मधेस आन्दोलनको नेतृत्व गरेको हो । नेता उपेन्द्र यादव पनि राष्ट्र हाक्न सक्ने दुरदृष्टि भएका सामथ्र्यवान छन् । उनीसंग मधेस मुक्तिको भावना गाँसिएको छ । विभिन्न पार्टीहरुसंगको एकता तथा एकिकरणले पार्टीलाई प्रवल संग्रामी र जुझारु बनाएको छ । संघीय समाजवादी फोरमले मात्र सवै प्रकारका विभेदहरुको अन्त्य गर्न सक्छ भन्ने कुरामा विस्वस्त भयौं । यसले समाजलाई जोड्ने प्रयत्न गर्दैछ । मेलमिलाप र सहिष्णुताको भावना बोकेको छ । जव अशोक राई र उपेन्द्र यादव संगसंगै मञ्चमा उभिन्छन् अनी समग्र नेपालको झल्को आउँछ । त्यसकारण हामी यो पार्टीमा प्रवेश गरेका हौं ।

पार्टीमा कुन जिम्मेवारी पाउनु भएको छ ?

– हामी पार्टीमा प्रवेश गरेका छौं । पार्टीले जे जस्तो जिम्मेवारी दिन्छ म त्यसलाई सफलतापूर्वक निर्वाह गर्ने प्रयत्न गर्नेछु । तर मलाई यो पद चाहिन्छ भन्ने होईन । म त्यस्तो चाहना पनि गर्दिन । म पार्टीको एउटा कर्मठ कार्यकर्ता हुँ । विचारको राजनीतिमा विस्वास राख्छु । समाजमा मेरो आफ्नै छवि छ । म सवै वर्ग र समुदायका विचमा लोकप्रयि छु । सवैसंग सुमधुर सम्बनध छ ।

नयाँ पार्टीमा प्रवेश गरे पछि कस्तो फरक अनुभव गर्नुभएको छ ?

– हाम्रा लागि नयाँ ठाउँ हो । कार्यकर्ता स्तरका साथीहरु त्था नेताहरुसंग चिनजान र सम्बन्ध स्थापित गर्ने कार्य गर्दैछु । आन्दोलनहरुमा भागलिने तथा अगुवाई गर्ने जमर्को गरेको छु । कार्यकर्ताहरुलाई संकुचित र सिमित दायरावाट बाहिर आएर राष्ट्रि राजनीतिको खुला आकाशमा मेलमिलाप र सहिष्णु राजनीतिको विगुल फुक्न भन्दैछु । कार्यशैली र बोल्ने शैलीमा रुपान्तरण ल्याउन भन्दैछु । आफू भित्र क्षमता र प्रतिभा छ भने त्यसको प्रभाव अवश्य पर्छ ।

अनी चुनाव लड्नु हुन्छ ?

– हाम्रो पार्टीले संविधान संशोधन नभएसम्म चुनावमा भाग लिदैनौ र चुनाव हुन पनि दिदैनौ भन्ने चट्टानी अडान लिएर संघर्ष गरिरहेको छ । जुन उचित र समय सुहाउँदो पनि छ । न्याय र समानतामा एक ईन्च पनि कमी हुनु हुदैन । तर यो लडाई राज्यसंगको हो । राज्यको शक्ति अभ्यास गर्नेहरुसंगको हो । तर संविधान संशोधन भएर मधेसको माग संवोधन भयो भने हाम्रो पार्टी पनि निर्वाचनमा जान्छ । लोकतन्त्रमा राजनैतिक दलले निर्वाचनमा भाग नलिने कुरै आउँदैन । संविधान संशोधन भएर पार्टी निर्वाचनमा होमियो भने म पनि चुनाव लड्न सक्छु । तर स्थानीय स्तरमा पार्टीले मलाई योग्य ठानेर अवसर दियो भने । जसको संभावना पनि प्रुचुर छ ।

अन्त्यमा के भन्न चाहानु हुन्छ ?

– संघीय समाजवादी फोरम मधेसमा एउटा अजेय शक्तिको रुपमा पहिले नै स्थापित राजनैतिक दल हो । अव यसले पहाड र हिमालमा पनि आफूलाई प्रवल शक्तिको रुपमा विस्तार गरेको छ । नेपालको वास्तविक राष्ट्रवादी र समावेशी राजनैतिक दलको रुपमा यसको अभिउदय हुदैँछ । न्याय र समानतामा आधारित नेपाली समाजको व्युह रचनामा यो दल अग्रणी भूमिकामा छ । यो कुरा सम्पूर्ण नेपाली जनताले बुझ्दै गएका छन् ।