२० कार्तिक २०८३, शुक्रबार

चितवनको कालिका नगरपालिकामा एमालेको निर्वाचन अभियान शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शिशिर सिंखडा

चितवन, ११ बैशाख । यहि बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पूर्वी चितवनको कालिका नगरपालिकामा नेकपा एमालेले निर्वाचन अभियान शुरु गरेको छ ।

अभियानको क्रममा एमालेका तर्फबाट मेयरका उम्मेदवार गोपी श्रेष्ठले कालिका नगरपालिकामा एमालेको जीत सुनिश्चित रहेको बताएका छन् । आज सोमबार नेकपा एमाले वडा नं. ६ को कार्यालय खोलेसिमलमा आयोजित कार्यक्रममा बोल्दै उम्मेदवार श्रेष्ठले कालिका नगरपालिकालाई समृद्ध र व्यवस्थित नगर बनाउने योजना र क्षमता आफुसंग भएको बताएका छन् ।

“हाम्रो कालिका, राम्रो कालिका” बनाउने आफु सधै लागिपर्ने भन्दै उम्मेदवार श्रेष्ठले कालिका नगरपालिकालाई देशकै नमुना नगर बनाउन आफु प्रतिवद्ध रहेको बताए । पहाडी वस्ती रहेको सिद्धि र शक्तिखोरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, त्यस्तै पदमपुर र जुटपानी क्षेत्रलाई कृषिको पकेट क्षेत्र बनाई समृद्ध चितवन बनाउन नेकपा एमालेले योजना बनाएको समेत उनले बताए ।

वृद्धवृद्धा, युवा, महिला, विपन्न, दलित, जनजाती एवम् पछाडी पारिएका सबै वर्गलाई समेटेर उनीहरुको जीवनस्तर उकास्ने गुरुयोजनाका साथ आफु अगाडि बढेकाले नगरवासीले एमालेलाई मतदान गरीे विजयी गराउने समेत उनले बताए ।

सोहि कार्यक्रममा नेकपा एमालेका तर्फबाट वडा नं. ६ अध्यक्षका उम्मेदवार बिनोद रेग्मीले एमालेको उम्मेदवारलाई विजयी गराउन नगरवासी आतुर रहेको बताए । विगतका हरेक सुःख–दुःखमा नगरवासीको लागि एमालेले गरेको साथ र सहयोगको मूल्याङ्कन गर्दै विकास र जनमुखी काम गर्ने नेकपा एमालेले यस नगरको सबै वडामा विजय हासिल गर्ने समेत उनले बताए ।

निर्वाचन अभियान अन्तर्गत आजै कालिका नगरपालिका वडा नं. ६ मा नेकपा एमालेले होम बहादुर गुरुङ्गको अध्यक्षतामा ३ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी र हिमलाल खतिवडाको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ ।

त्यसैगरी कालिका वडा नं. ९ शक्तिखोरमा भोज बहादुर मगरको संयोजकत्वमा १ सय १ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति, दिनेश श्रेष्ठको अध्यक्षतामा ४१ सदस्यीय युवा संघ निर्वाचन परिचालन कमिटी र लक्ष्मी कार्कीको संयोजकत्वमा ३५ सदस्यीय अखिल नेपाल महिला संघ निर्वाचन परिचालन समिति समेत गठन गरिएको छ ।

त्यस्तै कालिका वडा नं. ११ सिद्धिमा नेकपा एमालेले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम पनि आजै सम्पन्न गरेको छ । सो कार्यक्रममा नेकपा एमालेका नगर इञ्चार्ज जयचन्द्र प्रसाद चौधरी, क्षेत्रीय सदस्य एवम् युवा तथा खेलकुद विभागका सदस्य दिपक लामिछाने, वडा नं. ११ का अध्यक्षका उम्मेदवार दामाराम प्रजा लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।