२० कार्तिक २०८३, शुक्रबार

रतुवामाईको वडाध्यक्षमा चाँपागाई र पौडेलको चर्चा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरा, ६ बैशाख । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मोरङको रतुवामाई नगरपालिकामा राजनीतिक दलहरुले प्रचारप्रसारलाई तिब्रता दिएका छन् ।

इटहरा, सिजुवा, महादेवा, झुर्किया र बरडंगाको १, ४, ५, ७ र गोविन्दपुरको बक्राहा खोला पूर्वका १, ३, ४ र ७ नम्बर वडालाई मिलाएर रतुवामाई नगरपालिका बनाईएको हो । हालसम्म घोषणा भएका उम्मेद्वारहरुले पनि आफ्नै तरिकाले मतदाता र कार्यकर्तासँग भेटघाट तिब्र पारेका छन् । कुनै पनि राजनीतिक दलले औपचारीक रुपमा आफ्ना उम्मेद्वार घोषणा नगरेपनि स्थानीय नेताहरूले आफ्नो गणितीय जोड घटाउ तिब्र पारेका छन् । सो नगरको साविक इटहरा गाविस रहेको ३ वटा वडामा निर्वाचनको चहलपहल बढेको छ । रतुवामाई ८ र ९ नम्बर वडामा नेकपा एमालेले उम्मेद्वार घोषणा गर्दै प्रचारप्रसार अभियान तिब्र पारेको छ । ति दुई वडामा एमालेले स्थानीय स्तरमा लोकप्रीयलाई उम्मेद्वार बनाएको छ । रतुवामाई ८ मा एमालेका जिल्ला सदस्य समेत रहेका गोपी चापागाईं र ९ नम्बर वडामा देबेन्द्र पौडेललाई वडा अध्यक्षको उम्मेद्वार बनाएको छ । २०२७ साल बैशाख ३० गते भोजपुरको दिङ्लामा जन्मिएका चापागाईं २०३१ सालमा इटहरा बसाईं सरेर आएका हुन् ।

२०३९ सालबाट एमालेको बिद्यार्थी संगठन अखिलबाट राजनीतिक यात्रा सुरु गरेका चापागार्इंले स्थानीय स्तरमा सामाजिक र विकास निर्माणको क्षेत्रमा पुर्याएको योगदानकै कारण पनि बलियो उम्मेद्वारका रुपमा देखिएका छन् । युवा संघ मोरङको सदस्य, २०५२ सालमा साविक इटहरा गाउँ कमिटीको सचिव, इलाका कमिटी सदस्य, क्षेत्रीय कमिटी सदस्य र सचिव हुँदै गत पुसमा सम्पन्न जिल्ला अधिबेशनबाट सदस्यमा समेत निर्वाचित भएका थिए । चापागाईंले दाम्रभिट्टा बचत तथा ऋण सहकारी संस्था, इटहरा बहुमुखी क्याम्पस, महेन्द्र निमाविको विद्यालय व्यवस्थापन समिति, त्रिबेणी युवा क्लब लगायतका सामाजिक संघसंस्थामा योगदान पुर्याएका छन् । तीन हजार ८ सय ८३ जना मतदाता रहेको सो वडामा आफूले दुई तिहाई मतले विजयी हासिल गर्ने चापागार्इंको दाबी छ । सो वडामा रहेको दाम्राभिट्टा, इटहरा बजार, कट्नु, झुनाबारी लगायतका टोलमा एमालेको बलियो उपस्थिति रहेको छ । आफ्नो प्रतिस्पर्धा नेपाली काँग्रेससँग भन्दा पनि नेकपा माओवादी केन्द्रसँग हुने चापागाईंको भनाई छ ।

त्यस्तै २९ वर्षसम्म शिक्षण पेशामा योगदान पुर्याएका रतुवामाई ९ मा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेद्वार रहेका देबेन्द्र पौडेल पनि स्थानीय स्तरमा शक्तिशाली मानिन्छन् । जिल्ला बचत तथा सहकारी संघ मोरङको सदस्य हुँदै हाल सह–सचिव समेत रहेका पौडेल स्थानीय कृषि सहकारी संस्थाका अध्यक्ष समेत हुन् । २०२० साल भदौ २० गते ताप्लेजुङको दोखुमा जन्मिएका पौडेल २०२७ सालमा इटहरा बसार्इा सरेर आएका हुन् । २०३७ सालमा सरस्वती उच्च माध्यमिक विद्यालयमा अखिलबाट स्वबियु सचिवमा निर्वाचित हुँदै पौडेलको राजनीतिक यात्रा सुरु भएको हो । २०४० सालमा महेन्द्र क्याम्पस धरानमा अखिलको नगर सचिव भएका पौडेल २०४२ सालको विद्यार्थी आन्दोलनमा १५ दिन थुनामा समेत बसेका थिए । नेपाल शिक्षक संगठन मोरङको संस्थापक सदस्य समेत भएका पौडेल एमाले इटहराको गाउँ कमिटी सचिव हुँदै क्षेत्रीय कमिटीको सदस्य समेत भईसकेका छन् । २०५३ सालदेखि सहकारी क्षेत्रमा क्रियाशिल पौडेल इटहरा बहुमुखी क्याम्पसको सञ्चालक समिति सदस्य, अन्नपूर्ण इङ्लिस स्कूलको अध्यक्ष समेत हुन् ।

सशस्त्र युद्धकालमा इटहरामा एमालेको संगठन बिस्तारमा अविचलित भई काम गरेका पौडेलको वडा अध्यक्षको उम्मेद्वारीले विपक्षी पार्टीमा पनि हल्लिखल्लि मच्चिएको पाइन्छ । इमान्दार, कर्तव्यनिष्ठ र जुझारु स्वभावका पौडेल स्थानीयस्तरमा निकै चिनिएका छन् । तीन हजार ७ सय ६६ मतदाता रहेको सो वडामा आफूले सहज रुपले जित हात पार्ने पौडेलको दाबी छ । सो वडामा रहेका धाद्रा, डिपु, भौडाहा, गोठेडाँडा, टालीभट्टा, जयनगर लगायतका टोलमा एमालेको बलियो संगठन रहेकाले पनि जित हात पार्ने उनको दाबी छ ।

रतुवामाई ८ र ९ नम्बर वडामा कार्यकर्ताहरु सर्वसम्मत रुपमा उम्मेद्वार चयन गरेकाले पनि पार्टीभित्र बिवाद नरहेको र पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा होमिएको एमाले कार्यकर्ताहरुको भनाई छ । इटहरामै पर्ने वडा नम्बर १० मा भने वडा अध्यक्षमा ४ जनाले आकांक्षा देखाएका छन् । जसमा टंक ढकाल, देबि दाहाल, चन्द्र पराजुली र डगेन्द्रकेशर ढकालले अध्यक्षमा आ–आफ्नो दाबी नछाडेपछि जिल्ला कमिटीमा सिफारिस गरिएको छ । एमालेले रतुवामाई २ मा जिमारत मिँया, ३ मा देबिलाल ताजपुरिया, ६ मा तुलाराम लुईटेल र ७ मा एकनारायण चौलागाँईलाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेद्वार बनाएको छ । अन्य वडामा भने सहमति हुन नसकेपछि जिल्ला कमिटीमा सिफारिस गरेको छ ।

रतुवामाई नगरपालिकाको मेयरका लागि टिकेन्द्रबहादुर पोमु, रुपनारायण मिश्र, मेघराज कट्टेल, डिबी कार्की, शान्तिराम बराल, बिश्वनाथ राय, दुर्गा बिष्ट, दिननाथ निरौला, महेश गौतम, शिबनारायण राजबंशी, बिष्णु पोख्रेल, राम प्रसाद ढकाल आकांक्षी देखिएको एमाले मोरङ प्रचार बिभाग प्रमुख सत्यनाराण चौधरीले बताएका छन् । उनका अनुसार उपमेयरमा इन्दिरा ताजपुरिया, निशावती रजबंशी, मीना शर्मा, इन्दिरा चापागाई, दमयन्ता चुडाल, चन्द्रकला भण्डारी र सीता भुजेलको नाम सिफारीस भइ जिल्ला पुगेको छ ।

सो नगरपालिका अन्तर्गत पर्ने निर्वाचन क्षेत्रमा यसअघि काँग्रेसले एकलौटी जितेपनि एमालेले पहिलो पटक २०७० सालको संविधानसभा निर्वाचन जितेको थियो । यसअघि २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा साविक इटहरा, सिजुवा, गोबिन्दपुर र महादेवा गाविसमा एमालेले जित हात पारेको थियो भने झुर्कियामा काँग्रेसले जितेको थियो । बरडंगाको १ र ७ नम्बर वडा एमालेले र ४ र ५ नम्बर वडामा काँग्रेसले जित हात पारेको थियो । इटहरालाई एमालेको गढको रुपमा चिनिन्छ । साविक इटहरा, सिजुवा र गोबिन्दपुर गाविसमा एमालेको राम्रो प्रभाव रहेपनि दक्षिणी क्षेत्रमा भने निकै कसरत गर्नुपर्ने देखिन्छ । यस्तै एमालेको प्रतिस्पर्धीको रुपमा रहेको काँग्र्रेसले पनि जित हात पार्नका लागि इटहरा, सिजुवा र गोबिन्दपुरमा राम्रो प्रभाव जमाउनै पर्ने देखिन्छ ।