काठमाडौँ, ४ गते । नेपाल प्रहरी श्रीमती संघकी नवनियुक्त अध्यक्ष श्रीमती सीमा अर्यालले संघको कार्यालय भृकुटीमण्डपमा सोमबार कार्यभार शुभारम्भ गर्नुभएको छ ।
सो अवसरमा संघका उपाध्यक्ष, सल्लाहकार, कार्य समितिका पदाधिकारी लगायतले उहाँलाई स्वागत गर्नुभएको थियो ।
सो अवसरमा नवनियुक्त अध्यक्ष श्रीमती अर्यालले आफूले पाएको अवसरलाई सदुपयोग गर्न सकेमा आगामी दिनमा राम्रो काम गरी स्मरणीय बनाउने बताउँदै संघमा आफ्नो लामो समयदेखिको अनुभवको चर्चासमेत गर्नुभयो ।
उहाँले विभिन्न समस्याका बाबजुद पनि सामाजिक सेवा, परोपकारी र सेवामुलक कार्यमा संघले योगदान दिँदै आएको इतिहास भएकाले संघका समस्या, सुधारका पक्ष र श्रीवृद्धिका लागि सबैको रचनात्मक सहयोग र योगदानको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
उक्त अवसरमा संघकी उपाध्यक्ष श्रीमती नमिता पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने संघकी कोषाध्यक्ष रजनी भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संघका पदाधिकारीहरु, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु र प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।












प्रतिक्रिया